नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को राष्ट्रिय भेला पुस ६ र ७ गते ऐतिहाँसिक सिन्धुलीगढीमा हुने भएको छ । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघिय समितिको आयोजना, ३ नं. प्रदेश समितिको संयोजन तथा जिल्ला शाखाको व्यवस्थापनमा राष्ट्रिय भेला ऐतिहाँसिक सिन्धुलीगढीमा हुने भएको हो ।
भ्रमण वर्ष २०२० मा पर्यटकको गन्तव्य स्थल बनाउन ऐतिहाँसिक सिन्धुलीगढी र सिन्धुलीको पहिचान जुनारको प्रवद्धन गर्ने उद्देश्य सहित ऐतिहाँसिक सिन्धुलीगढीमा फोनिजको राष्ट्रिय भेलाको आयोजना गरिएको फोनिज जिल्ला शाखा सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठले वताउनुभयो । “वीर गोरखालीहरुको इतिहाँस, नेपालीको शान, ऐतिहाँसिक सिन्धुलीगढीको प्रवद्र्धन तथा सिन्धुलीको पहिचान जुनारको प्रवद्र्धनको लागि देश भरीका आदिवासी जनजाति पत्रकारहरुको भेला गरेर भ्रमण वर्ष २०२० मा पर्यटकको प्रमुख गन्तव्य वनाउने उद्देश्य सहित सिन्धुलीगढीमा राष्ट्रिय भेला गर्ने योजना वनाएका छौं” अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
राष्ट्रिय भेलामा संघीय समितिका पदाधिकारी तथा सदस्यहरु, सल्लाहकारहरु, विभिन्न समितिका संयोजक तथा सदस्यहरु, प्रदेश समितिका अध्यक्षहरु, संस्थागत सदस्य संस्थाका अध्यक्ष÷प्रतिनीधिहरु र शाखाका अध्यक्षहरुको सहभागीता रहने छ । राष्ट्रिय भेलामा करिब २ सय ५० जना अदिवासी जनजाति पत्रकारहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।
२०५६ मा स्थापना भएको तत्कालिन अनिज २०७२ मा महासंघमा रुपान्तरित भई फोनिज भएको थियो । देशभर ५६ जिल्ला तथा ६ वटा विदेश शाखा रहेको फोनिजमा करिब चार हजार आदिबासी जनजाति पत्रकार आवद्ध छन् ।
आदिबासी जनजातिको हक अधिकार, सवाल तथा भाषा, संस्कृति र संस्कारको संरक्षण तथा प्रवद्र्धनको पैरवी गर्दै आएको फोनिजले देशमा विद्धमान भ्रष्टाचारको अन्त्य सुशासन तथा समानुपातिक समावेशी सहभागिताका लागि निरन्तर आवाज उठाउँदै आएको छ ।
आदिवासी जनजातिको बाहुल्यता रहेको सिन्धुलीमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीमा २०५६ सालमा स्थापना भई क्रियाशिल छ । विभिन्न संघ संस्थाको राष्ट्रिय भेला सिन्धुली सदरमुकाममा भए पनि ऐतिहाँसिक सिन्धुलीगढीमा हुन सकेको छैन । भ्रमण वर्षको पुर्वसन्ध्यामा सिन्धुलीगढीमा हुने राष्ट्रिय भेलाले सिन्धुलीगढी पर्यटकको प्रमुख गन्तव्य वन्ने आसा छ ।