शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

भुकम्पअघि खरले छाएका घरको छाना भुकम्पपछि जस्तापाताले टल्किए

मंगलवार , पौष १, २०७६

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा सेताम्ये जस्ताको छानो लगाएर घर टल्काउनेलाई गाउँमा ठूलै हुने खाने मानिन्थ्यो । वारिपारीका गाउँ सम्म चर्चा हुन्थ्यो जस्तापाताले छानो छाएको घरको । गोलन्जोर गाउँपालिका–१,डुडभञ्याङ्गका यशोदा भण्डारीले एक दिनको टाढा सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढी बजारवाट लगेर जस्ताको छानो लगाउँदा पनि त्यस्तै भएको थियो । जस्तापाताको छानो धनिमानी,ठुलाबडाले मात्र लगाउँछन् । भण्डारी सम्झनु हुन्छ,मेरोमा मात्र हैन जिल्लाका गाउँ क्षेत्रमा सबैको धारणा यस्तै थियो ।

तर पछिल्लो समय गाउँगाउँमा सडक विस्तार भएसँगै जस्तापाता ढुवानीमा सहज भएपछि खरका छानाहरु लोप हुँदै गएका छन् । ढुङ्गा माटोको सट्टामा इँटा र सिमेन्टको गारो आएको छ । खरको छानोको सट्टामा जस्ता, टायल र ढुङ्गाका छानाहरु देखिन्छन् । यी मध्ये पनि २०७२ सालको भूकम्प पछि कि त आरसीसी पक्की घर बनेका छन् कि त जस्ताको छानो हालेका घरहरु बनेका छन् ।

ढुङ्गामाटोको गारो, बाहिरबाट लिप्सिएर सेतो कमेरो अनि रातो माटोले पोतेर टिलिक्क टल्कने भित्ता अनि खरको छानो । पुराना नेपाली घरको पहिचान हो यो । तर अब यस्ता घरहरु सिन्धुलीमा लोप हुँदै गएका छन् । ढुङ्गा माटोको गारो र खरको छानो भएका घरहरु वातावरणमैत्री र स्वास्थ्यको लागि उपयुक्त हुने अघिल्लो पुस्ताको भनाई छ । खरको छाना र ढुङ्गा माटोको गारो भएका घरहरु जाडोमा न्यानो र गर्मीमा चिसो हुने गोलन्जोर गाउँपालिका १ डुडभञ्याङ्गका यशोदा भण्डारीले बताउनुभयो । तर भूकम्पपछि सिमेन्टकै घर बनाउन प्रेरित गरिएको उहाँको भनाई छ ।

‘ढुङ्गा माटोको गारो लगाएका घरमा पनि सिमेन्टको डीपीसी र बाहिरबाट सिमेन्ट प्लास्टर गरिएका छन् । अनि सबैका जस्ताका छानाहरु छन् । यस्ता घरहरुमा जाडोमा निक्कै चिसो र गर्मीमा धेरै गर्मी हुने उहाँले बताउनुभयो । पहिलाको जस्तो पर्याप्त खर हुन छाडेकाले र आगलागीको बेला बढी क्षति हुने भएकाले पनि खरले घर छाउने प्रचलन हट्दै गएको छ । यससँगै नेपाली घरको मौलिकता पनि लोप भएको छ । २०७२ सालको भुकम्पअघि सम्म खरले छाएका घरका छानाहरु भुकम्पछिको पुनःनिर्माण पछि जस्तापाताले टिलिक्क टल्किएका छन् ।

प्रतिक्रिया