सिन्धुलीको मरिण गाउँपालिका–५,वेतिनीका एक सय बर्षिय विष्णुमाया वि.क मोतीयाविन्दुको शल्यक्रियापछि आईतबार आँखा देख्ने भएर घर फर्कनुभएको छ ।
विष्णुमायाको कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाईटी,जानकी आँखा अस्पताल जनकपुर र फ्रेड हलोज फाउण्डेसन तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधक सहयोगमा निशुल्क मोतीयाविन्दु शल्यक्रिया भएको हो ।
मोतीयाविन्दुले आँखा ढाक्दा संसार नै अध्यारो लागेको बताउने विष्णुमायाले शल्यक्रियाले मोतियाविन्दु हटेपछि नयाँ जीन्दगी पाए जस्तै लागेका बताउनुभयो । दुवै आँखामा मोतीयाविन्दु भएपछि सौचालय समेत एक्लै जान नसक्ने बताउने विष्णुमाया मोतीयाविन्दुको शल्यक्रियापछि आँखा अस्पताल देखि बसपार्क स्टेशन सम्म आफैँ हिडेर पुगेको बताउनु हुन्छ ।
दाहिने आँखाको शल्यक्रिया भएको र देव्र आँखाको शल्यक्रिया गर्न आगामी शिवरमा पुनः आउने उहाँको भनाई छ । गुमिसकेको आँखा फेरी फिर्ता आउँला भनेर सोचेको थिईन नातेनी । आँखा देख्ने भएपछि वैँसे जिवन पायो मैले । उहाँले हास्दै भन्नुभयो ।
आँखा प्रष्ट देख्ने भएको बताउँदै उहाँले आँखाको शल्यक्रिया गरिदिनुहुने जानकी आँखा अस्पतालका मेडिकल डाइरेक्टर डाक्टर हेमचन्द्र झा,निशुल्क आँखा शल्यक्रिया गराउन सहयोग गर्ने कमलामाईका नगर प्रमुख खड्ग बहादुर खत्रि र नेपाल रेडक्रस सोसाईटीलाई धन्यवाद सहित पुण्य कार्य गरिरहन शुभकामना व्यक्त गर्नुभयो ।
मरिण गाउँपालिका–५ पोखरी दमारका ६२ बर्षिय जेविमाया गोले दाहिने पटटीको आँखा देख्ने भएपछि खुसिले दंग हुनुहन्छ । २०७४ साल भदौँ महिनाको ७ गते द्रेव पट्टीको आँखा काम नलाग्ने भन्दै तिलगंगा आँखा अस्पताले निकालीदियो । भएको एउटा दाहिने पटटीको आँखामा पनि मोतीयाविन्दु भएपछि उहाँ निकै चिन्तीत हुनुहुन्थ्यो । आँखाको दृष्टि गुमाएको झन्डै ४ बर्ष पछि निशुल्क मोेतीयाविन्दुको शल्यक्रिया भएपछि सबैतिर झलमल रमाईलो लागेको बताउनुहन्छ ।
यस्तै कमलामाई नगरपालिका–९,बथानचौकीका ९५ बर्षिय झलकमाया कार्कीको दुवै आँखामा मातियाविन्दु भएको छ । दाहिने आँखाको शल्यक्रिया पछि आँखा देख्न सक्ने भएको उहाँले बताउनुभयो । देव्रे आँखा आगामी शिविरमा शल्यक्रिया गर्ने उहाँको भनाई छ । दुधौली नगरपालिका–६ हर्षाहीका ९४ बर्षिय तिलमाया कार्की र मरिण गाउँपालिका–६ कपिलाकोटका ८९ बर्षिय भिम बहादुर सिंजालीले पनि दाहिने आँखाको शल्यक्रिया गर्नुभएको छ । उहाँहरु सबैले आँखाको शल्यक्रिया पछि आँखा देख्ने भएका बताउँदै खुसि व्यक्त गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटीद्धारा संचालित आँखा उपचार केन्द्र सिन्धुलीमा मोतीयाविन्दु भएका विरामीहरुको आँखा निशुल्क शल्यक्रिया भएको हो । कमलामाई नगरपालिका सिन्धुलीको आर्थिक सहयोग तथा जानकी आँखा अस्पताल जनकपुर र फ्रेड हलोज फाउण्डेसन तिलगंगा आँखा प्रतिष्ठान काठमाडौँको प्राविधक सहयोगमा ४० जना मोतीयाविन्दु भएका जेष्ठनागरिकको आँखाको शल्यक्रिया गरिएको आयोजकले जनाएको छ ।
मोतियाविन्दु भएका विरामीहरुको शल्यक्रिया सहित निशुल्क औषधि तथा चस्मा समेत वितरण गरिएको नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापती अशोक श्रेष्ठले जानकारी दिनुभयो । अस्पतालमा आयोजित एक औपचारिक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कमलामाई नगरपालिका सिन्धुलीका प्रमुख खड्ग बहादुर खत्रिले नगरभित्रका ५ सय जना आँखाका विरामीहरुकले मोतीयाविन्दुको शल्यक्रिया सेवा लिएको बताउनुभयो । २ बर्षको अवधिमा नगरपालिकाले सो सेवा प्रवाह गरेको उहाँको भनाई छ । यस्तै हर्निया र आट्ठखस्ने महिलाहरुको प्रत्यक वडामा चिकित्सको टोली परिचालन गरि निशुल्क उपचार गरिने उहाँले बताउनुभयो । उहाँले गाउँघर क्लिनीक तथा प्राथामिक स्वास्थ्य उपचार केन्द्र लगाएत अस्पतालहरुमा नेपाल सरकारले प्रदान गर्ने कुनै पनि औषधिको अभाव हुन नदिने बताउनुभयो ।
मोतीयाविन्दुको निशुल्क शल्यक्रिया सेवा पाएका लाभग्राहीहरुले ज्योतिको समस्याबाट मुक्ति पाएको भन्दै संसारको उज्यालो ज्योति देखाउन सहयोग गर्ने स्थानीय सरकार,नेपाल रेडक्रस सोसाईटी र चिकित्सक सहितको टोली प्रति आभार प्रकट गरेका छन् । आँखा उपचार केन्द्र सिन्धुलीमा निशुल्क मोतीयाविन्दुको शल्यक्रिया हुने भएपछि सिन्धुलीका नौ वटै स्थानीय तह लगाएत रामेछाप,सर्लाही,महोत्तरी र सिरहा देखि विरामीहरु आउने गरेका छन् ।