सरोबर सिन्धुलीेले सिन्धुलीमाढी स्थित जनता हाट बजारमा शनिवार देखि निशुल्क कपडा वितरण गर्न थालेको छ । हरेक शनिवार युवाहरुको एक समूहले पुराना कपडा संकलन गरेर वितरण गर्ने कार्य सुरु गरेको हो । अभावमा रहेका व्यक्तिहरुलाई कपडा संकलन गरि वितरण गरिने उद्देश्यले निशुल्क कपडा वितरण अभियान संचालन गरिएको सरोबर सिन्धुलीका अध्यक्ष तथा सामाजिक अभियन्ता वरुण लामिछानेले बताउनुभयो ।
उहाँका अनुसार शनिवार मात्रै २० जनाले निशुल्क वितरण गरिएको कपडा लिएर गएका छन् । कपडा विभिन्न उमेरका बालबालिका,युवा र वृद्धहरुका लागि राखिएको उहाँको भनाई छ । तपाईका लागी पुरानो कपडा कसैका लागी नयाँ बन्न सक्छ । यो जाडो समयमा तपाईका चिसो लागेको कपडा कसैका लागी न्यानो बन्न सक्छ । उहाँका अनुसार यो अभियान प्रत्येक शनिबार सिन्धुलीको हाट बजार लाग्ने सटरमा संचालन गरिनेछ ।
निशुल्क कपडा वितरणका लागी एउटा सटर कमलामाई नगरपालिकाले व्यवस्था गरेको छ । जिल्लामा कोही पनि व्यक्तिले पैसा नभएकै कारण सबैतिर च्यातिएको कपडा लगाउन नपरोस् भन्ने उद्देश्यले यो अभियान चलाइएको अध्यक्ष लामिछानेले बताउनुभयो । विशेषगरी निम्न आय भएका व्यक्तिलाई यस अभियानले सघाउने अपेक्षा गरिएको छ ।
सिन्धुली सौगात शनिवारे हाट जाँदा अध्यक्ष लामिछाने सहितको एउटा युवा समुह निशुल्क कपडा वितरण गर्न व्यस्त देखिन्थ्यो । निशुल्क कपडा वितरणमा जुट्नुभएका स्वयसेवक युवाहरुले भोलेन्टर रुपमा मानविय कार्यमा खटेको प्रतिक्रिया दिनुभयो ।