शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीगढीमा बाह्य पर्यटककोे उपस्थिति बाक्लो

आइतवार , मंसिर २९, २०७६

नेपालको पहिचानसँग जोडिएको ऐतिहासिक स्थल सिन्धुलीगढीमा बाह्य पर्यटकको बाक्लो उपस्थिति हुन थालेको छ । सिन्धुलीगढी घुम्न दैनिक एक सय देखि ५ सय सम्म आउने गरेको सिन्धुलीगढी राजश्व काउन्टरका शान्ता थापाले जानकारी दिनुभयो । एक दिनमा १८ हजार सम्म राजश्व उठ्ने गरेको उहाँको भनाई छ । पहिला पर्यटक कति आउने गरेका थिए भन्ने यकिन तथ्यांक नभएपनि पछिल्लो समय सिन्धुलीगढी घुम्न आउने पर्यटकको संख्या बढ्दै गएको उहाँले बताउनुभयो ।

कमलामाई नगरपालिका सिन्धुलीले राजश्व उठाउन थालपछि जिल्लाका स्थानीयवासीहरु भने कम जाने गरेका छन् । जिल्लावासीहरुले आफ्नै पुर्खा लडेको ठाउँ हेर्न पनि पैसा तिर्नुपर्ने भनेर गुनासो गर्छन् । सिन्धुलीगढी राजश्व काउन्टरका थापाले सिन्धुली सौगातसँग भन्नुभयो । हाल प्रतिव्यक्ति विदेशीबाट १ सय रुपैँया र २५ रुपैँयाको टिकट आन्तारिक पर्यटकले नगरपालिकालाई तिर्नुपर्ने हुन्छ । व्यवस्थित टिकट काउन्टर नहुँदा सिन्धुलीगढी प्रवेश शुल्क उठाउन समस्या हुने गरेको उहाँले बताउनुभयो । शुल्क लगाउने कुरा लेखिएको बोडर तथा सुचना पेटिका नहुँदा घुम्न आउने पर्यटकहरुले विवाद गर्ने गरेको उहाँको अनुभव छ । सिन्धुलीगढीमा सौचालय छ । पानीको व्यवस्था छैन । खानेपानीको पनि समस्या छ । यसको असर पर्यटकलाई पर्ने गरेको छ । पानीको अभावमा सौचालयको सुविधा सम्म लिन नसकेपछि पैसा के का लागी लिईन्छ ? सिन्धुलीकै गौरवका रुपमा लिईएको गढीको भग्नावशेष अवस्था रहेको लगाएतका कुरा व्यक्त गरेर आक्रोस पोख्ने गरेको उहाँले बताउनुभयो ।

काठमाडौँका प्रतिभा रिजाल वली आफ्नो परिवार र नेपालमा अनुसन्धानका लागी आएका विदेशीहरु लिएर सिन्धुलीगढी घुम्न आउनुभयो । अंग्रेजलाई स्थानीयको सहयोगमा नेपाली सेनाले परास्त पारेको युद्धस्थलमा रहेका ऐतिहासिक भग्नावशेष संरक्षणको अभावमा छटपटाई रहेको देखिएको बताउनुभयो । सिन्धुली सौगातसँग कुराकानी गर्नुहुँदै,उहाँले भन्नुभयो,“नेपालकोे पहिचानसँग जोडिएको सिन्धुलीगढीको संरक्षण तर्फ स्थानीय सरकारको समेत ध्यान गएको जस्तो लागेन । अव जिल्लाका सबै स्थानीय सरकार र स्थानीयहरु सिन्धुलीगढीको संरक्षण र विकासमा जुट्नु पर्छ ।” उहाँले सिन्धुलीगढीकोे अवशेषहरु प्रत्यक्ष देखाउँदै गढीको इतिहास बुझाउने जानकारको अभाव खड्किएको बताउनुभयो । स्थानीय सरकारको यस तर्फ पनि ध्यान पुग्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

विराटनगरका लेखनाथ चापागाई र काठमाडौँका मनोज कुमार वलीले संचारमाध्ममा सिन्धुलीगढीको चर्चा सुन्ने गरेको बताउनुभयो । ‘सिन्धुलीगढी घुमेर हेर्दा’ भन्ने गायक कृष्ण विक्रम थापाको सिन्धुलीगढी घुरेर हेर्दा‘. भन्ने बोलको लोक गीतले सिन्धुलीगढीको ऐतिहासिकताको स्मरण गराउने उहाँको भनाई छ । विदेशीहरुले कपोकल्पीत ऐतिहासिक स्थल निर्माण गरेर लाखौँ पर्यटक भित्त्रायाउने गर्छन्,तर यहाँ सिन्धुलीगढी ऐतिहासिक स्थल भएर पनि लुप्त अवस्थामा छ । काठमाडौँका मनोज कुमार वलीले भन्नुभयो,“सिन्धुलीगढीलाई म्युजियम टुरिजम (पर्यटन संग्रहालय) को रुपमा विकास गर्नुपर्छ । सिन्धुलीगढीको इतिहास दिगो र व्यवस्थित रुपमा संरक्षण गर्न गढीक्षेत्रका पुराना संरचना हुबहँ निर्माण गरिनुपर्छ ।”

उहाँले अव पनि सिन्धुलीगढीको संरक्षण र विकासमा नजुटे पुर्खाले रचेकोे इतिहास मर्ने बताउनुभयो । सिन्धुलीगढीमा घुम्न आउने पर्यटकहरु युद्धका समयमा अंग्रेज सेनाहरुलाई परास्त गरेका नेपाली सेनाले प्रयोग गरेका हतियारहरु हेर्ने चाहन्छन् । तर सिन्धुलीगढीमा घुम्न आउने पर्यटकहरुले सिन्धुलीगढीको इतिहासका सम्बन्धमा त्यहाँ रहेका भग्नावेस संरचनाहरु हेदैँ बुझने अवसर जानकारहरुको अभावमा नपाईने गरेको उहाँले बताउनुभयो ।

यता गढी क्षेत्रको महत्वलाई उजागर गर्ने सन्दर्भमा कमलामाई नगरपालिकाले त्यस युद्धमा लडेका सैनिक कमाण्डरको तस्वीर सहितको परिचय दिने बोर्ड राख्ने बताईरहँदा हाल त्यस क्षेत्रमा भएकै वोर्डहरु पनि उखेलेर फालिएको अवस्थामा देख्न सकिन्छ । गढीदरवार विभिन्न झार र वनजंगलले डाकेको छ । यता नेपाललाई जोगाउने धरोहरका रुपमा ख्याति कमाएको सिन्धुलीगढी स्थल संरक्षणका लागि कमलामाई नगरपालिकाले प्राथमिकतामा राखेर काम गर्ने नगरप्रमुख खड्ग खत्रीले बताउनुभयो । सिन्धुलीगढीको संरक्षण र विकासका लागी नगरपालिकाले होमर्वक गरिरहेको जनाईएको छ ।

सिन्धुलीगढी क्षेत्रमा सानो र ठूलो गरी दुई वटा बेग्लाबेग्लै गढी रहेका छन् । ठूलोगढी सामरिक दृष्टिकोणले निर्माण गरिएको थियो । त्यसबेला ठूलोगढीमा तोप, गोलाबारुद्ध, बन्दोबस्तीका सामानको व्यवस्थापन र पानीको सङ्कलन गरिन्थ्यो । सानोगढी भने स्थानीय धनमनातिरबाट आउने शत्रुको निगरानीका लागि बनाइएको इतिहास छ । गढीमा शत्रुको निगरानी गर्न ११ वटा प्वाल भएको पर्खाल निर्माण गरिएको थियो । नेपाल एकीकरणको समयमा काठमाडौँका तत्कालीन मल्ल राजा जयप्रकाश मल्लको सहयोगका लागि कप्तान किनलकको नेतृत्वमा दुई हजार ४०० को संख्यामा काठमाडौँतर्फ अघि बढिरहेको ‘इष्ट इण्डिया कम्पनी’का फौजसँग नेपाली फौजले घमासान युद्ध गरेको थियो । ऐतिहासिक लडाईंबाट अङ्ग्रेज फौजका ५०० थान बन्दुक र केही तोप हात पार्न गोर्खाली फौज सफल भएको थियो । सिन्धुलीगढी लडाईंमा वीर गोर्खाली सेनाले खुकुरी, खुँडा, धनुकाँड, ढुङ्गा, घुँयेत्रो, अल्लो (जोडले पोल्ने जङ्गली सिस्ने),अरिङ्गाल जस्ता घरेलु हतियार र प्राकृतिक चिजबीज प्रयोग गरेको थियो ।

प्रतिक्रिया