सिन्धुलीको दुधौली नगरपालिकाले सबै वडा कार्यालय भवन एउटै नमूनामा निर्माण गर्ने भएको छ । वडा कार्यालय भवन निर्माणका लागि ८ भवनको शिलान्यास भएको र बाँकी २ वटा भवनकोे शिलान्यास गर्न बाँकी रहेको नगर प्रमुख घनश्याम राउतले जानकारी दिनुभयो । शिलन्यास हुन बाँकी रहेको वडा नम्बर १२ र १३ को वडा भवन पनि शिलन्यास गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।
उहाँका अनुसार दुधौलीको १४ वडा मध्य ४ वडाको आफ्नै भवन रहेको छ । दुधौली २,६,११ र १२ वडाको आफ्नै भवन रहेको हो । वडा नम्बर १ र ३ वडाको २ वटा भवन उपभोक्ता समिती मार्फत निर्माण भईरहेको छ । वडानम्बर ४,५,७,८,९,१०,१२ र १३ गरि ८ वटा भवन टेण्डर मार्फत निर्माण सुरु गरिएको छ । नयाँ निर्माण गरिने १० वटा भवन एकरुपता शैलीमा निर्माण नगरिने नगर प्रमुख राउतले बताउनुभयो । वडा कार्यालय भवन ढलान गरेर ३ तल्ला सम्मको निर्माण गरिने छ । भवन निर्माणका लागी जग्गा स्थानीयले निशुल्क रुपमा प्रदान गरेका नगरपालिकाले जनाएको छ । आगामी एक वर्षमा सक्नेगरी निर्माणका लागि भवन निर्माणको काम शुरु गरिएको हो ।
हाल दुधौलीको १० वडामा कार्यालय भवन भाडामा लिएर कामकाज भइरहेको छ । भवन नहुँदा काम गर्न कठिन हुनाका साथै सेवाग्राहीलाई सहज रूपमा सुविधा दिन नसकिरहेकाले नयाँ भवन निर्माण गर्न लागिएको नगर प्रमुख राउतले बताउनुभयो ।