देशमा यतिबेला विद्यार्थी आन्दोलनको मौसम सुरु भएको जस्तो देखिएको छ । मेडिकल कलेजका विद्यार्थी विगत ६ महिना देखि आफ्नै कलेज विरुद्ध निरन्तर संघर्ष गरिरहेका छन् । सरकारले तोकेको रकम भन्दा बढी शुल्क असुलेर कलेजले आफुहरु माथी आर्थिक शोषण गरेको उनिहरुले आरोप लगाएका छन् । त्यस्तै पछिल्लो समयमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी पनि आफ्नै विश्वविद्यालय विरुद्ध आन्दोलनमा उत्रिएका छ्न । विश्वविद्यालयले विद्यार्थी प्रवेशिका परीक्षाको एकैपटक अस्वाभाविक शुल्क वृद्धि गरेपछी विद्यार्थी आक्रोशित भएका हुन् । जसकारण विश्वविद्यालयको केन्द्रिय क्याम्पसको प्रशासनले यतिबेला तालाबन्दीको सामना गरिरहेको छ । विभिन्न विद्यार्थी संगठनको नेतृत्वमा विद्यार्थीहरु विश्वविद्यालयको विरुद्ध आन्दोलनमा सहभागी भएका छन् ।
अनेरास्ववियू, नेपाल विद्यार्थी संघ लगायत विद्यार्थी संगठनहरु विश्वविद्यालयले शुल्क मौजुदा अवस्था नै कायम नगरे आन्दोलन नरोकिने बरु अझ आन्दोलन सशक्त बनाउने बताइरहेका छन । यस्तै विश्वविद्यालय अन्तर्गत प्रदेश नं.३ को सिन्धुली जिल्ला मरिण गाउँपालिकामा रहेको प्राकृतिक श्रोत व्यवस्थापन कलेजका विद्यार्थीहरुको समेत उक्त आन्दोलनमा चासो बढेको छ । प्राकृतिक श्रोत व्यवस्थापन कलेज, ने.वि.संघका सभापति कौशल कोइरालाले आफूहरु विश्वविद्यालय र केन्द्रिय क्याम्पसबाट टाढा भएपनी आन्दोलनले नजिकिएको बताएका छन् । उनले भने, ‘यो मुद्दा व्यक्ति र भुगोल विषेश नभएर समग्र विद्यार्थीको हितमा रहेकोले उक्त आन्दोलनमा हाम्रो एक्यवद्धता छ ।’
‘एकवर्षमा नै प्रवेशिका परीक्षा शुल्क २५ सयबाट एकाएक ५ हजार पु¥याएर आम विद्यार्थीको विश्वविद्यालयले ढाड सेक्ने नीति अपनाएको देखिन्छ । त्यसैले यो घोर विरोधी कदम हो । यो निर्णयबाट विश्वविद्यालय तुरुन्तै पछि हटेर पुरानो शुल्क नै लिने निर्णय गर्नु विश्वविद्यालयको बुद्धिमानी निर्णय हुनेछ ।’ कोइरालाले भने ।
कृषि प्रधान देशमा कृषि संकायमा विद्यार्थीको कसरी आकर्षण बढाउन सकिन्छ भनेर गम्भीर नीति र कार्यक्रम सार्वजनिक गर्न तिर लाग्नुपर्ने विश्वविद्यालय बिद्यार्थीलाई पढ्न निषेध गर्ने वातावरण सिर्जना गरिरहेको विद्यार्थीहरुले बताएका छन् । विश्वविद्यालयमा अध्ययन गर्न आउने विद्यार्थी सँग अचाक्ली शुल्क लिने विश्वविद्यालय अध्यापन गराउन आउने प्राध्यापकको लागि भने थोरै शुल्कमा आवेदन फारम दिनेगर्दछ । विद्यार्थीहरुको अनुसार मार पर्नेगरी केन्द्रित गरेको त्यस्ता निर्णय तत्काल सच्याएर अगाडी बढोस् भन्ने विद्यार्थीको भावना नै विश्वविद्यालयको लागि उत्तम विकल्प हो ।
सिन्धुलीको प्राकृतिक श्रोत व्यवस्थापन कलेजलाई बन्दमुक्त क्षेत्र घोषण गरिएको र त्यसलाई पालना गर्न आफुहरु संयमित भएर लागेको ने.वि.संघ क्याम्पस इकाइ सभापति कोइरालाले बताएका छन । उनी भन्छन्, ‘विश्वविद्यालयले हाम्रो माग पूरा गर्दैन भने हामीपनी नियमको परिधिभित्र बसेर चुपचाप बस्न सक्दैनौं र सबै विद्यार्थी साथीहरूको सहभागीता सहित अनिच्छाको बाबजुद आन्दोलनलाई उग्र बनाएर विश्वविद्यालयलाई हाम्रो आवाज सुन्न बाध्य गराउँछौ । त्यो बेला उत्पन्न जुनकुनै परिस्थितिको जिम्मा विश्वविद्यालय स्वयं हुनेछ ।’