“सामान्य व्यक्तिलाई रक्तदानको महत्व त्यतिखेर थाहा हुन्छ,जति बेला उनीहरुका आफन्त रगतको अभावमा जीवन र मृत्युको दोसाँधमा हुन्छन् ।” कमलामाई नगरपालिका–६,सिन्धुलीका एक स्थानीयवासी रविन्द्र कुमार श्रेष्ठको भनाई हो यो । उहाँले शुक्रबार सिन्धुलीमाढीमा ४५ औँ पटक रक्तदान गर्नुभयो । सिभिल बैंक लिमिटेडले आफ्नो ९ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रममा श्रेष्ठले १६ बर्षको उमेर देखि रक्तदान गर्न थालेको बताउनुभयो ।
‘हाम्रो रगतमा हुने ३ वटा तत्वहरु आरविसि,डब्लुविसि र प्लेटिलिक्स हो । डब्लुविसि र प्लेटिलिक्सको त कुनै लाईफ्नै छैन । त्यो एक देखि १० दिन भित्रमा आफ्ैँ मरेर जान्छ । अलि लामो समय बाच्ने भनेको आरविसि हो । त्यो पनि बढीमा सय देखि एक सय २० दिन सम्म मात्रै बाँच्छ’,उहाँले भन्नुभयो,‘निस्कासन भएर जाने रगत अरु कसैलाई काम लाग्छ भने किन रगतदान नगर्ने ?’
सिन्धुली सौगातसँगको कुराकानि गर्नुहुँदै श्रेष्ठले एक पटकमा दुई प्वइन्ट सम्म रगत दान गरेको बताउनुभयो । स्वस्थ्य व्यक्तिले रगतदान गर्दा कुनै फरक नपर्र्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो, ‘हाम्रो शरिरमा खेर जाने रगत अरु कसैको शरिरमा काम लाग्छ,त्यही रगत नपाएर कसैको ज्यान जान्छ । कोही जीवन र मृत्युको दोसाँधमा हुन्छन् । रगतदान गरेर हामीलाई केही घाटा छैन । बरु आफ्नो रगतले अरु कसैलाई बचाउन पाएकोमा खुसी त मिल्छ नी आफुलाई ।’
शुक्रबार श्रेष्ठसँगै १५ जना पुरुषले रक्तदान गरेका सिभिल बैंक सिन्धुलीका एक कर्मचारी उज्वल देवकोटाले जानकारी दिनुभयो । नेपाल रेडक्रस सोसाइटी तथा रक्त सञ्चार केन्द्रको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द्र सिन्धुलीका ल्याव टेक्निसन कुसुम सुवेदीले रगतको सबै घटक बन्न करिब तीन महिनाको समय लाग्ने भएकोले दुईपल्टको रक्तदानबीच तीन महिनाको फरकमा रक्तदान गर्न सकिने जानकारी दिनुभयो । उहाँका अनुसार १८ वर्षदेखि ६० वर्ष उमेर सम्म तीन महिनाको अन्तरालमा रगतदान गर्न सकिन्छ ।
एचआईभी र एड्स, यौनरोग, हेपाटाइटिस बी र सी लगायतका संक्रामक रोगको उच्च जोखिममा रहेका व्यक्तिले रक्तदान गर्न नहुने ल्यावटेक्निसन सुवेदीले बताउनुभयो । महिनावारी भएका बेला, स्तनपान गराउने अवस्था रहेका बेला पनि रक्तदान गर्नु नहुने उहाँले जानकारी दिनुभाये ।
सिन्धुलीमाढीमा रहेको रक्तसंचार केन्द्रबाट आवश्यक रगत लिन सकिन्छ । यहाँबाट सिन्धुलीको खुर्कोट स्थित शुभ जिवन अस्पताल,बर्दिवास,जनकपुर लगाएतका अस्पतालमा समेत रगत जाने गरेको उहाँले बताउनुभयो ।