शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको ग्रामीण क्षेत्रमा सहरीकरण बढ्दै

शुक्रवार , मंसिर २०, २०७६

बीपी राजमार्ग निर्माणसँगै सहरिकण हुदै गएको सिन्धुलीको सुनकोसी गाँउपालिकास्थित मूलकोट बजार

सिन्धुली जिल्लामा तीन ठूला राष्ट्रिय राजमार्ग निर्माणसँगै ग्रामीण क्षेत्रमा समेत सहरीकरण बढ्दै गएको छ ।

बीपी राजमार्ग, मध्यपहाडी लोकमार्ग र मदनभण्डारी लोकमार्ग (धरान चतरा–सिन्धुली– हेटौडा) सडक निर्माणसँगै ग्रामीण क्षेत्रका बजारमा शहरीकरण बढ्दै गएको हो । बीपी राजमार्गले छोएको खुर्कोट, खाल्टे, मुलकोट, रातमाटा, नेपालथोकमा शहरीकरण निकै बढेको स्थानीय बासिन्दा बताउछन् ।

‘एक दशक अघिसम्म खुर्कोटमा भोक मेटाउन खाजा खाने राम्रो होटल पाउन हम्मेहम्मे पथ्र्यो,’ स्थानीय शरद आचार्यले भन्नुभयो, ‘गोजिमा पैसा भएपनि होटल पसलको समस्याले भोकै हिड्न बाध्य हुनु पथ्र्यो । अहिले बीपी राजमार्ग निर्माण भएर यातायात सञ्चालनसँगै आकर्षक शहरको रुपमा परिणत भएको छ । अहिले सुविधासम्पन्न होटलनै सयौको सङख्यामा खुली सकेको छ ।’

बीपी राजमार्ग निर्माणभएसँगै यस क्षेत्रमा बजारीकरण बढेको उहाँको अनुभव छ । उहाँका अनुसार यात्रुलाई खाना खुवाउन र खुर्कोट बास बस्न रुचाउनेलाई सुविधा सम्पन्न लज तथा होटल निर्माण भएका छन् ।

यतिमात्र नभएर निर्माण सामाग्री, इलेक्ट्रोनिक सामाग्री, कपडा, भाँडा लगायत घरायसी प्रयोग हुने सबै सामान यतिखेर खुर्कोटमै सहज रुपमा किन्न पाईन्छ । सदरमुकाम सिन्धुलीमाढीमा पाइने सबै सामान खुर्कोटमै पाइन थालेको स्थानीय बताउछन् । राजमार्गको निर्माणपछि धमाधम पक्कि घरहरुका संरचना ठडिदै गएको छ ।’

निर्माणाधिन मध्यपहाडी लोकमार्गले छोएका देशका १० स्थानलाई साना सहरको रुपमा विकास गर्ने सरकारी योजना अन्तर्गत सिन्धुलीको गोलान्जोर गाँउपालिका–७ स्थित खुर्कोट बजार सुविधा सम्पन्न सहर बन्दै गएको हो । शहरी विकास तथा भवन निर्माण विभागले खुर्कोटलाई साना सहरको रुपमा विकास गर्न पाँच बर्षअघि गुरु योजना निर्माण गरी काम सुरु गरेसँगै पूर्वाधार निर्माणले तीब्रता पाएको नयाँ सहर आयोजना कार्यालय खुर्कोटले जनाएको छ ।

कार्यालयका अनुसार भित्रि सडकहरु निर्माण, खेल मैदान, रिङ रोड निर्माण, शहरी विकासको भवन, लाईब्रेरी, सभागृह भवन, सौर्य बत्ति जडान, फन पार्क, जग्गा एकिकरण विकास लगायतका पूर्वाधारको काम भई रहेको छ । साना सहर विकासका लागि पूर्वाधार निर्माणमा अहिलेसम्म २५ करोड रुपैयाभन्दा बढी खर्च भई सकेको उक्त वडाका अध्यक्ष सुवास देवकोटा बताउनुहुन्छ ।

‘२०७० सालदेखि खुर्कोटलाई साना सहरको रुपमा विकास गर्न सुरु गरिएको हो, यो बर्ष ६७८ रोपनी जग्गालाई एकिकरण गरि विकास गर्ने कार्य भई रहेको छ,’ उहाँले भन्नुभयो, ‘अहिले खुर्कोटको स्वरुप नै फेरिएको छ । पहिलेको खुर्कोट अहिले अर्कै भएको छ ।’ खुर्कोट नयाँ सहरको रुपमा विकास भएसँगै ठाँउ छाडेकाहरु पुनः फर्केर आउन थालेका उहाँको भनाई छ ।

मदन भण्डारी राजमार्गस्थित दुधौली नगरपालिकाको दुधौली र मरिण गाँउपालिकाको मरिण क्षेत्रमा सहरीकरण बढ्दै गएको छ । पुरानो दोस्रो सदरमुकाम भनिने भिमानबजार भन्दा बढी शहरीकरण यस क्षेत्रमा हुदै गएको छ । टायल, ब्लक र काठ लगायतले निर्माण भएका घरहरु धमाधम पक्कि संरचना परिणत हुदै जान थालेको स्थानिय बताउछन् ।

‘अबको पाँच बर्षमा दुधौली ठुलै शहर बन्छ,’ स्थानिय रोशन नायकले भन्नुभयो, ‘अहिले यहाँको संरचना र बजारनै व्यवस्थित बन्दै गएको छ । मदन भण्डारी लोकमार्ग दुधौली हुदै निर्माण भएपछि व्यापार व्यवसाय र बसोबासका लागि समेत दुधौली धेरैको रोजाईमा पर्न थालेको छ ।’ दुधौलीको मुख्य बजार क्षेत्रमा एउटा सटरको भाडा पाँच देखि आठ हजारसम्म पर्न थालेको स्थानीय बासिन्दा बताउछन् । ‘स्थानीय वरपरका सबै गाँउबस्तिको किनमेल गर्ने बजार दुधौलीनै हो,’ उहाँले भन्नुभयो, ‘दिन दिनै सुविधा थपिदै जाँदा दुधौली बजार सबैको रोजाईमा पर्न थालेको हो ।’

उहाँका अनुसार दुधौलीमा मध्यक्षेत्रिय प्रहरी तालिम केन्द्र आएपछि थप शहरीकरण बढ्न थालेको छ । ‘केहि बर्षदेखि पुराना संरचना भत्काएर धमाधम पक्कि संरचना बन्दै गएको छ,’ उहाँले भन्नुभयो, ‘पक्कि संरचना बन्न नपाउदै भाडामा लागि हाल्छ । मदन भण्डारी लोकमार्गमै पर्ने मरिणको कपिलाकोट, सहान लगायतका बजारमा शहरीकरण बढ्न थालेको हो । सामान्य फाट्फुट् मात्र किराना पसल रहेको मरिण क्षेत्रमा हाल सुविधायुक्त बजारको रुपमा विस्तार हुदै गएको स्थानीय बताउछन् ।

 

प्रतिक्रिया