कमलमाई नगरपालिका सिन्धुलीको– ९ नम्बर वडा कार्यलय भिमानमा शुक्रबार सामाजिक जवाफदेहितका औजार सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । मानव अधिकार सचेतना बिकास केन्द्र ( हुराडेक) नेपाल दोलखा द्धारा सिन्धुली जिल्लामा सञ्चालित पारस्पारिक जवाफदेहि परियोजनाको आयोजना तथा कमलामाई नगरपालिका ९ नम्बर वडा कार्यलय सिन्धुलीको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रममा सुशासनका न्यूनतम मापदण्डहरुको बारेमा स्थानिय सरकार र आम नागरिकले यसको प्रयोग तथा प्रक्रियाको विषयमा छलफल गरेको थियो ।
कार्यक्रममा कमलामाई नगरपालिका ९ नम्बरका वडा अध्यक्ष देवराज पौडेलले वडा कार्यलय बाट प्रवाह गरिने सेवालाई प्रभाबकारी बनाउन आमनागरिकहरुले पनि निग्रानी गर्नु पर्ने बताउदै जवाफदेहिताका लागि आफु सधै प्रतिवद्ध हुने बताउनु भयो । वडा सचिब मुकेस तामाङले नागरिक समाजका सस्थाहरुले आन्तरिक सुशासन कायम गर्नका लागी सहभागिता, कानुनको शासन,पारदर्शीता,जवाफदेहिता, नितीगत प्रभावकारी र कार्यदक्षताका क्षेत्रहरुमा ध्यान दिनु पर्ने सुचकहरुको विषयमा जानकारी दिनु भएको थियो । उहाँले जवाफदेहि एक पक्षको मात्र नभएर सेवा लिने र दिने दुबै जिम्मेवार बन्नु पर्ने बताउनु भयो ।

कार्यक्रममा सहभागि यादब प्रसाद अधिकारीले सुशासनको विषयमा वडा कार्यलयमा नागरिक वडा पत्र,सुचना सेन्टर स्थापना र मासिक रुपमा वडाले सम्पन्न गरेको कामको विवरण आम नागरिकमा सार्वजनिक गर्नु सुशासनको एउटा पक्ष भएको बताउदै ,वडालाई सुझाब दिनुभयो ।
अभिमुखिकरण कार्यक्रममा पारस्पारिक जवाफदेहि परियोजना सिन्धुलीका संयोजक शुष्पा भुजेलले परियोजनाले सिन्धुली जिल्लामा अहिले सम्म सञ्चालन गरेको काम र अभिमुखिकरण कार्यक्रमकाको बिषय बस्तुको बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजिकरण कमलामाई नगरपालिका ९ नम्बरका वडा सचिब मुकेस तामाङले गर्नु भएको थियो ।