शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीको शीतभण्डार भवन प्रयोगमा नआउदा कृषक निरास

बिहिवार , मंसिर ५, २०७६

गर्मी मौसममा जुनारको स्वाद आम उपभोक्तालाई चखाउने उदेश्यका साथ एक करोड रुपैयाको लागतमा कमलामाई नगरपालिका–४ दोभानटारमा निर्मित शीत भण्डार बर्षौदेखि प्रयोगमा आउन सकेको छैन् ।

मुख्यगरी जुनारलाइ नै भण्डारण गर्ने भनिएपनि सञ्चालनमा नआउदा कृषक र उपभोक्ता दुवै निराश छन् । झण्डै १२ वर्ष अघि निर्माण भएको भवनमा दुइ सिजन जुनार तथा आलु भण्डारण गरिएको थियो । त्यसपछि खर्च धान्नै नसकेर प्रयोगमा आउन नसकेको सञ्चालकको भनाई छ ।

शीत भण्डार प्रयोगमा नआउदा जुनार, तरकारी, तथा अन्य फलफुल भण्डारण गरि बेमौसममा विक्री गर्न नपाएको गुनासो कृषकहरुको छ । शीत भण्डार भवन निर्माणसँगै उत्साहित कृषक यतिखेर निरास बनेको स्थानीय जुनार कृषक हरिबाबु गजुरेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “मौसमी तरकारी तथा फलफुल भण्डारण गरि बेमौसममा बिक्री गर्दा कृषकलाई राम्रै आम्दानी हुन्थ्यो । अहिले त्यो सुविधाबाट कृषकहरु बञ्चित हुदै आएका छन् ।”

३६० मेट्रिक्टन क्षमताको उक्त शीत भण्डार एक करोड लागतमा सम्पन्न भएको निर्माण कार्यमा संलग्न जुनार विकास संघले जनाएको छ । संघका अनुसार लागत मध्ये जापानी राजदुतावासको अनुदान ६० लाख रुपैया र बाँकी रकम तत्कालिन समयमा जिविस, गाविस र जुनार उत्पादक कृषकहरुबाट जुटाईएको हो ।

जुनार उत्पादनका लागि नेपालमै पहिलो रहेको सिन्धुली जिल्ला त्यहि उत्पादनलाई नै लक्षित गरेर शीत भण्डार निर्माण भएको थियो । शितभण्डार सञ्चालक समेत रहेको जुनार विकास संघका निर्बतमान् उपाध्यक्ष कृष्णप्रसाद गौतमका अनुसार सुरुको बर्षमा समयमा नै विमा र विद्युत मिटर जडान गर्न नसक्दा शीत भण्डार प्रयोगमा आउन नसकेको हो । अहिले भने शीत भण्डारकै जमिनमा जुस उद्योग निर्माणाधिन रहेकाले प्रयोगमा आउन सकेको छैन ।

गोलान्जोर गाँउपालिका ४ तीनकन्याका कृषक बेगबहादुर आले विदेसीले जुनारलाइ नै लक्षित गरेर करोड खर्च गरि निर्माण गरिदिएको भवन प्रयोगमा ल्याउन नसक्नु दुर्भाग्य ठान्नुहुन्छ । “हाम्रो लागि त्यत्रो भवन जुनार राख्न बनाइ दिएका छन्, हामीले सञ्चालनमा ल्याउन सकेनौं,” उहाँले भन्नुभयो । शीत भण्डार सञ्चालन नहुदा जुनारबाट उचित मुनाफा लिन नसकेको उहाँको ठम्याइ छ ।

सिजनमा यो बर्ष जुनार कृषकले प्रतिदाना ८÷१० रुपियासम्म पाएका छन् तर शीत भण्डारबाट बेमौसममा बजारमा लैजादा २० देखि २५ रुपैंयासम्म लिन सकिनेमा कृषकहरु ढुक्क थिए ।

“शीत भण्डार भवन जुस उद्योग कम्पनीले सञ्चालन गर्ने भनी सम्झौता भएकोले उक्त उद्योग बन्न पनि ढिला हुदा प्रयोगमा नआएको देखिएको हो,” जुनार विकास सङ्घका निर्बतमान् उपाध्यक्ष गौतमले भन्नुभयो ।

प्रतिक्रिया