तीन नम्बर प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्दिप भण्डारीले प्रशिक्षणले प्रहरी जवानहरुलाई सदाचारी,नैतिकवान र नागरिकप्रति अझ जिम्मेवार बनाउने बताउनु भएको छ । सिन्धुलीको दुधौलीमा प्रहरी जवानहरुको लागि सन्चालित अपराध अनुसन्धान तथा नियन्त्रण सम्बन्धि ५८ औं समुहको तालिम समापन कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले प्रहरी तालिम केन्द्रले समाजले आवश्यकता महसुस गरे अनुसारको आधुनिक र दक्ष जनशक्ती उत्पादन गरेको बताउनुभयो । आम नागरिकमा सुशासनको प्रत्याभूति दिन सुरक्षा निकायहरुको विशेष भूमिका हुन्छ । उहाँले भन्नुभयो, “संगठनले अपेक्षा गरे अनुसारको ज्ञान, सिप तथा कुशलता प्रदान गर्न तालिम केन्द्र प्रतिवद्ध छ ।”

एसएसपी भण्डारीले प्रशिक्षार्थीले नेपाल प्रहरी संगठनको नीति अनुसार समाजमा अपराध नियन्त्रण तथा अनुसन्धान र शान्ति सुव्यवस्था कायम राख्दै जनअपेक्षा अनुसारको प्रहरी सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नागरिकहरुको सुरक्षा तथा समाजमा हुने विभिन्न अपराध अनुसन्धानमा सहयोगीको मुख्य भुमिका निर्वाह गर्नुपर्ने प्रहरी हवल्दार तथा जवानहरु भएको उल्लेख गर्नुभयो ।
असोज २८ गते बाट दुधौली तालिम केन्द्रमा भएको तालिमा ३ नं प्रदेश अन्तर्गतका विभिन्न प्रहरी कार्यालयबाट १ जना हवल्दार र २९ जना जवानहरु गरी ३० जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । सोमबार तालिमका प्रशिक्षार्थीहरुलाई एसएसपी भण्डारीले प्रमाणपत्र समेत वितरण गर्नुभयो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुले तालिम केन्द्रबाट प्रदान गरिएका ज्ञान सीप र कौशल्ताको खुलेरै प्रशंसा गर्नुभयो । उहाँहरुले केन्द्रबाट प्राप्त ज्ञान, सीप र कौशललाई कार्य क्षेत्रमा प्रभावकारी रुपमा संगठनको नीति अनुरुप कार्यान्वयन गर्ने प्रतिवद्धता जनाउनु भएको थियो ।