राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सनका लागी आवश्यक जग्गा अधिग्रहण प्रक्रिया अन्तिम चरणमा पुगेको छ । कमलामाई नगरपालिका–२,कुसुमटारमा ५० जना व्यक्तिहरुको नाममा रहेको १२ विघा जग्गा अधिग्रहण गर्नका लागी अन्तिम तयारी भएको हो । यस क्षेत्रभित्र पर्ने घर तथा जग्गाको मुआब्जा वितरण गर्ने तयारी भईरहेको आयोजनाको सम्पर्क कार्यालय सिन्धुलीले जनाएको छ ।
हाल मुआब्जा पाउँ भनि सम्पर्क कार्यालय सिन्धुलीमा आयोजनाका जग्गा धनिको निवेदन आइरहेको सिनियर डिभिजनल हाइड्रोजियोलोजिस्ट (बरिष्ठ भुर्गव जल विज्ञ) विश्वबन्धु केसीले जानकारी दिनुभयो । उहाँका अनुसार ंसोमबार सम्म आयोजनाका ४० जना जग्गा धनिले निवेदन दिईसक्नुभएको छ । बाँकी १० जनाले पनि विहीबार भित्रमा निवेदन लिएर कार्यालयमै आउने जानकारी पाएको उहाँले बताउनुभयो । केसीका अनुसार मंसिर १५ गते सम्म मुआब्जाका लागी निवेदन दिने समय छ ।
आयोजना निर्माणका लागी आवास भवन लगाएत पाँच वटा भौतिक संरचना बनाउनका लागी जग्गाको मुआब्जा निर्धारण गरिएको छ । यसका लागी असोज ३० गते मुआब्जा रकम निर्धारण समिती गठन भएको थियो । जग्गाको प्रकृति, उपयोग र अवस्था, बैंकले ऋण प्रवाह गरेको आधार,नगरपालिकाको एकिकृत सम्पत्ति कर तथा मालपोतको मुल्यांकनलाई आधार बनाएर मुआब्जा निर्धारण गरिएको केसीले बताउनुभयो । आयोजनाले विवेकपुर्ण तरिकाले मुआब्जा निर्धारण गरेको छ,सिनियर डिभिजनल हाइड्रोजियोलोजिस्ट केसीले सिन्धुली सौगातसँग भन्नुभयो,“ जग्गाको प्रकृती,उपयोग र जग्गाको स्थानलाई हेरेर जग्गाको मुआब्जा न्युनतम प्रतिकठ्ठा साढे ३ लाख देखि अधिकतम १० लाख सम्म दिने निर्णय गरेका छौँ । ”

कुनै अवरोध र समस्या नआए पुस महिना सम्म सबै प्रभावितहरुको खातामा मुआब्जा बापतको रकम पुग्ने उहाँको भनाई छ । आयोजनाको लागी आवश्यक पर्ने जग्गा अदालत,मालपोत,वैँकले रोक्का गरिदिएको हुन सक्छ,यसको छानविन गछौँ । त्यसपछि जग्गा धनिको नामबाट आयोजनाको नाममा जग्गा दाखिला गराईदिन मालपोललाई पत्रचार छौँ । उहाँले भन्नुभयो,“मालपोतले आयोजनाको नाममा जग्गा दाखिला गरिदिए पछि आयोजना जग्गा धनिको खातामा मुआब्जा रकम पठाउँनेछौँ ।”
अधिग्रहण गर्न लागिएको जमिनमा ५० व्यक्तिको ७५ कित्ता रहेको जनाईएको छ । अधिग्रहणको क्रममा १७ घर परिवार हटाईने छ । सोम बहादुर थापा मगर,कुल प्रसाद गौतम,फुलमाया बम्जन,सुनमाया ठोकर,विशाल मोक्तान,युवराज थिङ्ग,तिर्थ बहादुर थिङ्ग,विष्णु बहादुर थिङ्ग,सम्सेर बहादुर थिङ्ग,आईत सिंह,सन्तमाया दमाई,कर्ण बहादुर कामी,तिर्थ बहादुर कामी,सम्मर कामी,राम बहादुर लो र आईती तामाङ्ग को घर सहित सबै जग्गा आयोजनाका लागी अति आवश्यक भएकाले थाकथलोबाट विस्थापीत नै गराउनु परेको केसीले बताउनुभयो । यस निर्णयमा १७ जना प्रभावितहरु राजीखुसी हुनुभएको र मुआब्जाका लागी निवेदन समेत आइरेको उहाँको भनाई छ । मुआब्जाका लागि करिब रू.२५ करोड लाग्ने अनुमान गरिएको छ ।
सुनकोशी गाँउपालिका–६ को सुनकोशी नदीमा १२ मिटर उचाईको बाँध बाँधि ६७ क्युसेक प्रति सेकेन्ड पानी १३ दशमलव १ किलोमिटर सुरुङको माध्यमबाट कमलामाई नगरपालिका–२ को कुसुमटार स्थित मरिन खोलामा पानी खसालिने आयोजनाले जनाएको छ । पहिलो चरणमा सोही पानी खसालिने क्षेत्रमा मुआब्जा वितरण गर्न लागिएको हो । आयोजना सम्पन्न भएपछि सुनकोशी नदीको पानी मरिण खोला हुँदै बागमती नदीमा मिसिने र यसबाट तराईका जिल्लामा सिँचाइको व्यवस्था गरिने छ । यसका लागी विवादरहित रुपमा पुष महिनाभित्र जग्गाको मुआब्जा वितरण भएमा माघ महिनामा आयोजनाको टेण्डर हुने केसीले बताउनुभयो ।