सुनकोशी कृषिउपज संकलन केन्द्रको व्यवस्थापन समितिका पदाधिकारीहरुका लागि आयोजित कृषिउपज संकलन केन्द्र व्यवस्थापन तालिम शनिवार सुनकोशीको रामटारमा सम्पन्न भएको छ । तालिमले सुनकोशी कृषिउपज संकलन केन्द्र संचालनका लागी ३१ बुँदे कार्ययोजना समेत निर्माण गरेको छ ।
तालिममा मुख्य रुपमा कृषि संकलन केन्द्र संचालन, व्यवस्थापन, बजारिकरण आदि विषयमा छलफल गरिएको थियो । गत कार्तिक २८ गतेबाट शुरु भएको ३ दिने तालिमको सहजीकरण इको नेपालका प्रशिक्षक रामकुमार दाहालले गर्नुभएको थियो ।
तालिमको उद्घाटन गर्नुहुँदै सुनकोशी गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहालले कृषकहरुलाई लाभ दिई कृषि उत्पादनको माध्यमबाट समृद्धि हासिल गर्नका लागि कृषिउपज संकलन केन्द्रले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । गाउँपालिका उपाध्यक्ष दिर्वुसिं मुक्तानले निर्वाहमुखी कृषि प्रणाली भन्दा पनि व्यवसायिक कृषि प्रणाली अवलम्वन गरी कृषि क्रान्तिमा लाग्न कृषकहरुलाई आव्हान गर्नुभयो ।
“जलवायु अनुकुलन कृषि अभ्यास, आर्थिक समृद्धि र पूर्वाधारको विकास” भन्ने लक्ष्यका साथ सुनकोशी गाउँपालिकाले समग्र गाउँपालिकाको कृषि तथा पशुविकासका लागि कार्यढाँचा तयार गर्न लागेको जानकारी उपाध्यक्ष मुक्तानले दिनुभयो ।
मर्सिकोर नेपाल एवं सामुदायिक विकास कार्यक्रम सिन्धुलीद्वारा संचालित भुकम्प प्रभावित जोखिम वर्ग घरधुरीका लागि पुनःर्लाभ सहयोग कार्यक्रम (सर्भ परियोजना) को ११ लाख र सुनकोशी गाउँपालिकाको १४ लाख ५१ हजार गरी कूल २५ लाख ५१ हजारको लागतमा निर्माण सम्पन्न भएको उक्त संकलन केन्द्रमा कृषकहरुले उत्पादन गरेका कृषिजन्य वस्तुहरु ल्याई विक्री वितरण भइरहेको जानकारी व्यवस्थापन समिति अध्यक्ष निरन्जन श्रेष्ठले दिनुभयो ।
सुनकोशी गाउँपालिकाले यसअघि नै कृषिउपज संकलन केन्द्र संचालन कार्यविधि २०७६ पारित गरी ११ सदस्सीय संकलन केन्द्र व्यवस्थापन समिति समेत गठन गरिसकेको जानकारी दिइएको छ ।