सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विद्यार्थी संगठन अनेरास्ववियूले काठमाडौँमा प्रदर्शन गरेको छ । भारतले गरेको सीमा अतिक्रमणको विरोध गर्दै हिमालय क्याम्पस अनेरास्ववियू कमिटीले प्रदर्शन गरेको छ । हिमालय कलेज अफ ईन्जिनियरिङ अगाडि विद्यार्थीहरुले प्रदर्शन गरेका थिए । अनेरास्ववियुका पूर्व अध्यक्षहरु सबिन सिग्देल, मदन सुबेधी, हिमाल गौतम, सतिश शाह र जेनिश भट्टराई को उपस्थितिमा विद्यार्थीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएका थिए ।
र्यालीमा सहभागी विद्यार्थीले ‘गो व्याक इन्डिया’, कालापानी हाम्रै हो’, ‘हाम्रो भूमि फिर्ता गर’ ‘नेपालको भूमि मिच्न दिँदैनौँ’, ‘भारतीय विस्तारबाद मूर्दावाद’ लगायतका नारा लगाएका थिए ।
हिमालय क्याम्पसको आसपासका क्षेत्रमा प्रदर्शन गर्दै विरोध कार्यक्रम कोणसभामा परिणत भएको थियो । कोणसभालाई अनेरास्ववियूका क्याम्पस कमिटी इन्चार्ज एवं पुर्बअध्यक्ष सबिन सिग्देल र पुर्ब अध्यक्ष हिमाल गौतमले सम्बोधन गर्दै भारतले सारेको नयाँ नक्सा सच्याउन चेतावनी समेत दिए । उनीहरुले नेपालको भूमि एक इन्च पनि मिच्न नदिने भन्दै सीमा मिचिएको विषयलाई अन्तराष्ट्रियकरण गर्ने चेतावनी दिए ।
भारतले पटकपटक नेपालमाथि दादागिरी देखाउँदै आए पनि पछिल्लो पटक नेपाली भूमि नै आफ्नो नक्सामा राखेपछि त्यसको विरोधमा आन्दोलनमा उत्रिनु परेको हिमालय क्याम्पसका साविक अखिल क्रान्तिकारीका अध्यक्ष प्रतिक अधिकारीले सिन्धुली सौगातलाई बताए । उनले भने, ‘सरकारलाई कूटनीतिक माध्यमबाट यो समस्याको हल खोज्नका लागि घच्घच्याउन प्रदर्शन गरेका हौँ ।’
भारतले हालै सार्वजनिक गरेको आफ्नो नक्सामा कालापानी, लिपुलेकलगायतका भूमि समावेश गरिएको छ ।