नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले छिट्टै मन्त्रिमण्डल हेरफेर हुने बताउनुभएको छ । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा आयोजित पार्टी प्रशिक्षण कार्यक्रमका उहाँले यस्तो बताउनुभयो ।
नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को बीचमा कुराकानी भएको र एउटै व्यक्ति पाँच वर्षसम्म मन्त्री बनिरहने गरि स्थायी नियुक्ति नगरिएकोले चाँडै मन्त्रीहरुको हेरफेर हुने उहाँको धारण छ । “राम्रो काम गर्नेको मनोवलमा निरासापना नआहोस् भनेर सार्वजनिक नगरिएको हो ”, प्रवक्ता श्रेष्ठले भन्नुभयो “तर छिट्टै नै मन्त्रिमण्डल हेरफेर हुन्छ ।”
यसैबीच श्रेष्ठले ‘थ्रि पी’को गलत प्रयोगले नेकपा सकिने बताउनुभयो । पार्टीका नेताहरु सधै पोष्ट, पावर र प्रोपर्टीमा सधै रहन चाहने र त्यसको दुरुपयोग गर्ने कार्य गरेमा पार्टी समाप्त हुने चेतावनी दिनुभयो । जनताको जनजिविकाका सवालहरुमा भन्दा पनि नेताहरु पावरको दुरुपयोग गरेर सम्पती जोड्ने कमाउ धन्दामा लाग्ने प्रवृति रहेको उहाँले खुलासा गर्नुभयो ।
सिन्धुलीको पश्चिमी क्षेत्र हरिहरपुरगढीमा आयोजित प्रशिक्षणमा नेकपाका केन्द्रीय सदस्य डा.विजयकुमार पौडेल र प्रवक्ता श्रेष्ठले पार्टीले लिएको निती, सिद्धान्त, समसामयिक राजनीतिक परिस्थिति र आगामी कार्यदिशाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।