सिन्धुली अस्पतालमा स्त्रीरोग विशेषज्ञ डाक्टरको अभावमा ९ महिना देखि ठप्प रहेको प्रसुती सेवा मंगलवारबाट पुन सञ्चालनमा आएको छ । गएको माघ महिना देखि स्त्रीरोग विशेषज्ञ डाक्टरको अभावमा प्रभावित भएको प्रसुती सेवा डा.राजन न्यौपाने र प्रसन्नराज भण्डारी आएपछि सुरु भएको हो ।
कमलामाई नगरपालिका वडा नम्बर –५ का २३ बर्षिय गर्भवती एलिना मगरको सकुशल शल्यक्रिया भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रलाद पोखरेलले जानकारी दिनुभयो । स्त्रीरोग विशेषज्ञ डाक्टर सुमित्रा गौतमले जटिल प्रकृतिका प्रसुती सेवा दिएको भएपनि पछिल्लो समय कर्मचारी समायोजनमा सिन्धुली नपरेर उहाँ अस्पताल आउन छोडेपछि अन्यत्र अस्पतालमा रिफर गर्नु पर्ने बाध्यता थियो । अस्पतालले सेवालाई गुणस्तरीय बनाउनका लागि अत्याधुनिक उपकरण खरिद गरी जडान गरेसँगै पुनः डाक्टरको व्यवस्था गरि प्रसुती सेवा सुरु गरेको उहाँको भनाई छ ।
अस्पतालले जटिल प्रकृतिका गर्भवतीको प्रसुतीको लागि शल्यक्रिया गर्ने उपकरण समेत ल्याएको जनाएको छ । जसले गर्दा सिन्धुलीका गर्भवती महिला अब प्रसुतीका लागि शहरका अस्पताल वा जिल्ला बाहिर जान पर्ने झन्झट हटेको छ । कमलामाई नगरपालिकाको सहयोगमा सिन्धुली अस्पतालमा निशुल्क प्रसुती सेवा प्रदान गरिएको छ ।