शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

महिलाका लागि महिला, समाजसेवाकालागि उमेरले छेकेन

मंगलवार , कार्तिक २६, २०७६

२३ वर्षको उमेर । सिमित श्रोत र साधन तर असिमित समाजसेवाको हुटहुटि । समाजसेवाले जति मनलाई आनन्द दिन्थ्यो त्यतिनै समस्याहरु आइरहन्थ्यो । तर, प्रियंका भण्डारीलाई यी कुराहरुले छेकेन । र, त दुई वर्षअघि ‘फाउन्डेशन अफ नेपाली सोसाइटि’ नामक गैरसरकारी र गैरनाफामुलक समाजिक संस्था खोलेर समाजसेवामा सक्रिय बनिन् । सचेतना मार्फत देशको आर्थिक विकास र सकारात्मक परिवर्तनको उद्धेश्य बोकेको संस्था संचालनकालागि धेरै कठिनाईहरु थिए । तर, समाजसेवाको तिर्खाले उनलाई कहिले पछि हट्न दिएन । काम गर्ने बाटोमा समस्याहरु आइरह्यो तर समाजसेवाको भोकले गर्दा ती सबै समस्या सानो बनिदिए । स्थापना भएको दुई वर्षमा नै देशका ११ जिल्लाहरुमा २५ बढि कार्यक्रमहरु संचालन गर्न प्रियंका सफल भइन् । फाउन्डेशन अफ नेपाली सोसाइटिलाई काठमाडौँमै सिमित गराए देशका दुर्गम जिल्लाहरुलाई अन्याय हुने प्रियंकाको सोचले गर्दानै सोसाइटि हुम्लासम्म पुग्यो । २३ वर्षको केटि, न त ठाउँको पत्तो छ न कुनै जानकारी नै, तर पनि उनकै नेतृत्वमा सोसाइटि हुम्ला पुग्यो । हुम्लामा भएको आगलागिमा पिडितलाई राहत बाड्दा प्रियंकाले बाटोको कठिनाई सबै बिर्सिन् । हुम्ला पुगेर फर्किएपछि भने प्रियंकालाई जस्तोसुकै बाधा अवरोध पनि सहजै सामना गर्ने मनोबल बढ्यो । उनी विगतका दिनहरुलाई सम्झिदै भन्छिन्, ‘हामीलाई थोरै दुख हुँदा कसैलाई अथाहा सहयोग मिल्छ भने, त्यो दुख दुख हुदैँन ।’

समाजसेवामा प्रियंका एक्लै थिइनन् । सिन्धुलीकि प्रज्ञा न्यौपानेको मन पनि समाजसेवामा थियो । प्रियंकासँगको भेट अनि दुवैको एउटै इच्छाशक्ति, अनि के चाहिन्थ्यो र ! सहकार्य बढ्यो । महिला सशक्तिकरणकालागि प्रज्ञा विभिन्न कार्यक्रम संचालन गर्छिन् । प्रियंकाको साथ र प्रज्ञाको आँटले आज धेरै महिलाहरु जिविकोपार्जन गर्न सक्षम भएका छन् । प्रज्ञाले ब्युटि पार्लर सिकेकि छिन् । आज त्यहि सिप उनले फाउन्डेशनमार्फत महिलाहरुलाई सिकाइरहेकि छिन् । फाउन्डेशनले रोजगारीका कार्यक्रमहरु संचालन गरिराख्दा महिलाहरुलाई आर्थिक सहयोग समेत गरेको छ । दुई महिलाको सक्रियताकाले आज सयौँ महिलाहरु लाभान्वित भइरहेका छन् ।

सार्वजनिक कार्यक्रममा महिलाको हातमा भएको कन्डम र पेन्टिले असहज वातावरण पैदा गर्छ । अझ दुर्गम क्षेत्रमा त्यो झनै असहज हुन्छ । तर, सचेतना अभिवृद्धि गर्नकालागि यी सबै आवश्यक थियो । महिलाको नेतृत्वमा संचालनमा रहेको फाउन्डेशनले कन्डम प्रयोग गर्ने तरिका पनि सिकाएको छ । एचआइभि एड्स जाँच्न कार्यक्रमहरु भएका छन् । पेन्टि वितरण गरिरहदा नाक खुम्चाउनेलाई हातेमालो गरेर फाउन्डेशनले कार्यक्रमहरु अघि बढाइरहेको छ । प्रज्ञा भन्छिन्, ‘२१ औँ शताब्दिमा कन्डम, पेन्टिका कुरा सामान्य हुन् । तर, दुर्गम क्षेत्रमा बसेर त्यो परिकल्पना गर्न सकिदैँन ।’

महिलाको नेतृत्वमा रहेको संस्थाले हरेक दिन समाजसेवामा एक कदम अघि बढाइरहेको छ । असंभवलाई वास्ता नगरि निरन्तर समाजसेवामा लागिपरेका प्रियंका र प्रज्ञाबाट आजका महिलाले धेरै पाठ सिक्न सक्छन् ।

प्रतिक्रिया