सिन्धुलीगढीको २५२ औँ विजयोत्सवको अवसरमा आज (आइतवार) सिन्धुलीगढी युद्ध संग्राहलयको शिलान्यास हुने भएको छ । नेपाली सेनाकोे साढे चार करोड बजेटमा निर्माण हुने संग्राहालयको शिलन्यास नेपाल सरकारका रक्षामन्त्री इश्वर पोखरेलले गर्ने भएका छन ।
नेपाली सेनाले अतिथिहरुको स्वागतका साथै संग्राहलयको शिलान्यासको तयारी गरेको जनाईएको छ । प्रधान सेनापति पुर्ण चन्द्र थापा समेतको उपस्थितीमा शिलान्यास हुन लागेको संग्राहालय पुरातात्विक शैलीमा निर्माण गरिने बताईएको छ । नेपाल आक्रमण गर्नका लागि आएका इस्ट इण्डिया कम्पनीको अंग्रेज सेनालाई गुलेली, खुकुरी, सिस्नो, अल्लो र अरिङ्गालको सहायताले पराजित पारेको सिन्धुलीगढी किल्लाको रुपमा रहेको सिन्धुलीगढीमा संग्राहालय निर्माणका लागि ढुंगा र सिमेन्टको प्रयोग गरिने भएको छ । संग्राहलयको नक्सांकन, डिजाईन पुरातत्व विज्ञहरु सम्मिलित काठमाडौँ स्थित मेगा सिभिल कन्सल्टेन्ट प्राईभेट लिमिटेडले तयार पारेको हो । करिब ४९२० बर्ग फिट क्षेत्रफलमा निर्माण हुने संग्राहालयको भवन ६ कोठाको एक तल्ले रहने छ । मंसिर पहिलो हप्ताबाट संग्रहालयको निर्माणको काम सुरु हुने र २०७७ असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य रहेको संग्राहलयको निर्माणको जिम्मा वर्द बहादुर गणले पाएको छ ।
यसैविच प्रदेश सरकारको बहुबर्षिय आयोजनाबाट करिव ७ करोड बजेटमा पुननिर्माण हुने सिन्धुलीगढीको ऐतिहासिक रानीदरबारको पुननिर्माणको शिलान्यास पनि गराउने कमलामाई नगरपालिकाको तयारी रहेको छ । अग्रेजसँग नेपाल पक्षबाट युद्ध लडेका गोरखा राज्यका राजा श्री ५ पृथ्वीनारायण शाहको शालिक समेत निर्माण कार्य अन्तिम चरणमा पुगेकाले त्यसको समेत कार्तिक २४ मै अनावरण गर्ने तयारीमा कमलामाई नगरपालिका लागि परेको छ ।
कात्तिक २२ गते देखि मनाउन सुरु गरिएको विजयोत्सवमा सिन्धुलीगढी र सिन्धुलीको पहिचान दिने कला संस्कृतिको बारेमा जानकारी दिने कलाहरु, विभिन्न जातीय, सांस्कृतिक पहिचान दिने कलाहरु, लोपोन्मुख बाजाहरु, परम्परागत घरेलु सामग्रीहरु, काष्ठ तथा जरा कलाहरु, नेपाली सेनाले तोप, तत्कालिन सैनिक र उनीहरुले प्रयोग गरेका हतियारहरु,सिन्धुलीका स्रस्टाहरुद्धारा लिखित पुस्तक तथा साहित्यहरु लगाएतको प्रदर्शनी गरिएको छ ।