छोराको आसमा आठ छोरी जन्माएका चन्द्रबहादुरको परिवार
सिन्धुलीको हरिहरपुरगढी गाँउपालिका–३ घण्टेकी फुलमाया राईको जोडीलाई विवाह हुने बित्तिकै छोरा जन्माउने मोह जागेको थियो । त्यसैको आसमा उनीहरुले सन्तान जन्माउदै गए । तर अहिलेसम्म आई पुग्दा आठ वटा सबै सन्तान छोरी जन्मिएका छन् ।
२०५० सालमा फुलमायाको सोही वडा निवासी चन्द्रबहादुर राईसँग मागी विवाह भएको थियो । “१६ बर्षकै उमेरमा वुवाहले विवाह गरि दिनुभयो,” उनले भनिन, “विवाह भएको तीन बर्ष नपुग्दै बच्चा जन्मियो, पहिलो सन्तानको रुपमा छोरीको जन्म भयो ।”
उनँका अनुसार गरिब अशिक्षीत परिवार भएकाले छोरी जन्मिदा घर परिवारमा खासै उत्साह छाएन । फुलमायाका श्रीमान चन्द्रबहादुर पनि घरको एक्ला छोरा थिए । छोरी हुदा बंस कायम रहदैन भन्ने श्रीमान् चन्द्रलाई पनि लाग्यो । त्यसपछि थप बच्चा जन्माउन सुरुवात भयो । पहिलो सन्तान जन्मिएको डेढबर्ष पुरा नहुदै दोस्रो सन्तान छोरीको जन्म भयो ।
“दोस्रो सन्तान छोरा जन्मिने आश परिवारमा ठुलो थियो, तर दोस्रो सन्तानमा पनि छोरीनै जन्मिएपछि घरमा उत्साह भन्दा निरासा बढ्यो,” उनले भनिन, “सासु, ससुरा र श्रीमानले छोरा नजन्माउदा बंश सकिने भन्दै निरन्तर सन्तान जन्माउन बाध्यता सिर्जना गर्नुभयो ।” फुलमाया आफैलाई पनि छोरा नहुदा अभागी भएको महसुस भयो । ”प्रत्येक बच्चा दुई बर्ष नपुग्दै अर्को बच्चा जन्माउने क्रम निरन्तर चल्यो, सबै छोरीकै मात्र जन्म भयो,” उनले थपिन ।
जायजेथाको नाममा केहि नभएका उनीहरु सुकुम्बासी जीवन विताइरहेका छन् । छोराकै आशमा फुलमायाको दम्पति जोडीले अहिलेसम्म आठ सन्तान छोरी जन्माइ सकेका छन् । चारओटा साना छोरीहरु वरिपरि राखेर सानो फुसको छानो भएको घरको आगनमा श्रीमतीसँगै भेटिएका चन्द्रबहादुरले भने, “छोराकै आशमा आठ छोरी जन्मिए । हाम्रो त भाग्यमै खोट रहेछ, एउटा पनि छोरा भएन ।”
उनले अगाडी थपे, “भगवानले पनि हामी गरिबमाथि दया गरेनन् ।” दैनिक गुजरा चलाउन समेत हम्मे हम्मे परिवारमा अशिक्षाका कारण छोराकै आशमा आठ वटा छोरी जन्मिदा परिवारलाई ठुलै बोझ थपिएको छ ।
चन्द्रबहादुरका अनुसार आठ वटा छोरी मध्ये तीन वटा छोरीले विवाह गरि सके । १५ देखि १८ बर्षको उमेरै तीन वटै छोरीले आफैले मन पराएर विवाह गरेर गइसके । २०३४ सालमा जन्मिएकी फुलमायाको नाती र नातीना जन्मिसकेका छन् ।
“हाम्रो पो छोरा भएन त, छोरीको त छोरानै जन्मिएको छ,” फुलमायाले हास्दै भनिन, । छोराकै आशमा आठ वटा छोरी जन्माएकी फुलमायाको श्रीमानश्रीमतीलाईनै जबसम्म छोरा हुदैन, तबसम्म सन्तान जन्माउन नरोक्ने निधो गरेका थिए । तर कान्छि छोरी सहजै जन्मिएन ।
२०७४ साल साउन १ गते निरन्तर पाँच दिनसम्म प्रसब पिडा खेपेर अन्त्यमा सहज रुपमा नजन्मिएपछि अप्रेशसन गरेर बच्चा निकालीयो । “बच्चा निकाल्न अप्रेशसन गरेकै समयमा चिकित्सकले स्थायी बन्ध्याकरण गरि दिए,” उनले भनिन, “अब त सन्तान जन्मिने कुरै आएन, भगवान्ले पनि हामीलाई ठग्यो ।”