शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

सिन्धुलीका ५२ विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान

मंगलवार , कार्तिक १९, २०७६

सिन्धुलीका सबै विद्यालयमा विद्युतीय हाजिरी मेसिन जडान हुने भएको छ । जिल्लाको सबै स्थानीय तहले विद्यालयको गुणात्मक सुधारका लागी विद्यालयमा हाजिरी मेसिन जडान गर्न लागेका हुन् । जिल्लाको नौ वटै स्थानीय तहहरुले कागजी हाजिरी छाडेर प्रविधियुक्त विद्युतिय हाजिरी मेसिनको प्रयोग गरिने जनाए ।

जिल्लाको अधिकाँश स्थानीय तहका विद्यालयहरुमा विद्युतीय हाजिरी मेसिन जडान हुने प्रक्रिया समेत अगाडी बढिसकेको छ । शिक्षक समयमा विद्यालयमा हाजिर हुँदैनन् र अवधिभर रहेर पढाउँदैनन् भन्ने गुनासो अन्त्य हुने विश्वास सहित पछिल्लो समय जिल्लाका सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी मेसिनको प्रयोग बढ्न थालेको हो ।

कमलामाई नगरपालिकामा रहेका १ सय ३ विद्यालय मध्ये ३१ वटा विद्यालयमा विद्युतीय हाजिरी जडान भईसकेको नगर शिक्षा शाखा प्रमुख शंखरराज लुईटेलले जानकारी दिए । उनले गत जेठ ३० गतेको बैठकले २४ वटा विद्यालयमा विद्युतीय हाजिर थप गर्ने निर्णय गरेको बताए । नगर भित्र रहेका २६ वटा माध्यमिक विद्यालयलाई विद्यालयकै स्रोतबाट किनेर विद्युतीय हाजिरी जडान गर्ने निर्देशन भएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ । नियमीत हाजिर भएनभएको वडाको जिम्मामा रहेको उनले बताए । विद्यालयको गुणात्मक सुधारका प्रविधियुक्त हाजिरी जडान गर्न विद्युत नपुको स्थानमा नगरले सोलारको व्यवस्था गरेको उनको भनाई छ । कमलामाईले विद्यालयमा विद्युतीय हाजिरी जडान गर्नका लागी १५ लाख भन्दा भन्ढी बजेट विनियोजन गरेको बताईएको छ ।

दुधौली नगरपालिकाका ८० वटा सार्वजनिक विद्यालय मध्य विद्युत हाजिर ३ विद्यालयमा जडान भएको छ । १६ वटा विद्यालयमा यस बर्ष जडान गरिने दुनपा शिक्षा शाखा संयोजक पदम विष्टले बताए । उनले विद्युत सेवाको विस्तार सबै ठाउँमा नहुँदा,आवश्यकता अनुसारको दक्ष जनशक्तिको अभाव लगाएत समस्याले बाँकी अन्य विद्यालयमा भने विद्युतीय हाजिरी मेसिन जडान गर्न केही समय लाग्ने बताए ।

सुनकोशी गाउँपालिकाका ५० वटा विद्यालय मध्ये ९ वटा विद्यालयमा विद्युतीय हाजिरी जडान गर्ने कार्य सुरु भएको गाउँपालिका अध्यक्ष दिपा बोहोरा (दाहाल)ले बताईन् । बाँकी विद्यालयमा आगामी बर्ष बजेट विनियोजन गरेर जडान गरिने उनको भनाई छ ।

यस्तै तिनपाटन गाउँपालिका ८८ वटा सामुदायिक विद्यालय मध्ये एउटा विद्यालयमा मात्र विद्युतीय हाजिरी जडान भएको छ । चन्द्रवती मावि बेलघारीमा विद्युतीय हाजिर जडान भएको र अन्य विद्यालयमा विद्युत विस्तार भएपछि जडान गरिने शिक्षा शाखा संयोजक बुद्धि बहादुर तामाङले बताए ।

मरिण गाउँपालिकाको ४८ विद्यालयहरु मध्य ८ वटा विद्यालयमा विद्युतीय हाजिरी जडान भएको र यस बर्ष १२ विद्यालयमा जडान गर्ने तयारी भएको गाउँपालिकाले जनाएको छ । फिक्कल गाउँपालिकाको ५६ वटा विद्यालय मध्य १८ वटा विद्यालयमा यस बर्ष विद्युतीय हाजिर जडान गर्ने लक्ष्य रहेको र बाँकी विद्यालयमा आगामी बर्ष जडान गरिने फिक्कल गाउँपालिका उपाध्यक्ष पार्वती सनुवारले बताईन् । केन्द्यि विद्युत नपुगेका कारण जडान कार्य अवरुद्ध भएको उनको भनाई छ ।

घ्याङलेख गाउँपालिकाको ३६ वटा विद्यालयमा सोलार मार्फत विद्युतीय हाजिरी जडान गर्ने कार्य सुरु गर्न लागिएको गाउँपालिका उपाध्यक्ष दुर्गा देवि सुनुवारले जानकारी दिईन् । गोलन्जोर गाउँपालिकाका ६२ वटा विद्यालयमा आवश्यकता अनुसार विद्युतीय हाजिर जडान गरिने गाउँपालिका शिक्षा शाखाले जनाएको छ । हरिहरपुरगढी गाउँपालिकाको सबै ठाउँमा केन्द्रिय विद्युत विस्तार भएपछि विद्युतीय हाजिर जडान हुने जनाईएको छ ।

अहिले जिल्लाको २८ वटा विद्यालयमा विद्युतिय हाजिरीको प्रयोग भइरहेको छ । २४ वटा विद्यालयमा जडान भए पनि विभिन्न समस्याका कारण प्रयोगमा आउन सकेको छैन । गत वर्षहरूमा हाजिर लगाउने सिस्टम नहुँदा कर्मचारीको निकै लापारवाही बढेको पाइन्थ्यो, तर अहिले प्रत्यक्ष रुपमा कर्मचारीको उपस्थितिको निगरानी गर्न सकिने भएको स्थानीय तहले जानकारी दिएका छन् । यो प्रविधिले कर्मचारीलाई अनुशासित बनाउने, सेवाग्राही उत्तरदायी बनाउने कार्यमा ठुलो सहयोग पुगेको छ

कर्मचारी हराउने र कार्यालयमा नआउने समस्या दुर भएको शिक्षक टोम प्रसाद काफ्लेले बताए । कर्मचारीलाई विद्युतीय हाजिरीले अनुशासनमा राख्न बाँध्ने काम गरेको उनको भनाई छ । यस्तै शिक्षक लोकमणी तिमल्शिनाले विद्यालयमा विद्युतीय हाजिरीको प्रयोग हुन थालेपछि आफ्नो कर्तव्यप्रति र कार्यालय समयप्रति सजग बनाएको बताए । विद्युतीय हाजिरीका कारण सेवाग्राहीको गुनासो कम सुनिन् थालेको भन्दै उनले हेर्दा सामान्य लाग्ने विद्युतिय हाजिरीले कार्यालयको सुशासनमा राम्रो काम गरेको धारण राखेका छन् ।

प्रतिक्रिया