शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

डल्लिमायाको जिविकोपार्जन मर्चा बेचेर

सोमवार , कार्तिक १८, २०७६

सिन्धुली प्रहरीले जिल्लामा घरेलु लागु औषध नस्ट गर्ने अभियान संचालन गरिरहँदा कमलामाई नगरपालिका–९,भिमानकी डल्लीमाया तामाङको दैनिकी मर्चा ( जाड पकाउन प्रयोग गरिने औषधि) उत्पादन र विक्री गरेर वित्ने गरेको छ ।

अन्य सिपमुलक व्यवसाय गर्न तालिम प्राप्त नभएकाले आफुसँग भएको सिपको प्रयोग गरेर मर्चा उत्पादन र विक्री गरेर जिविकोपार्जन गर्ने गरेको उनले बताईन् । ३ छोरी र १ छोरा छन् । विवाह पछि उनिहरु सबै आ–आफ्नो व्यवहारमा भए । चामल र नुन तेल मर्चा बेचेर नै किनेर खान्छौँ । ६१ बर्षिय डल्लीमायाले भनिन्“मर्चा बनाएर नबेच्ने हो भने त के खाएर बाच्नु ?”

सानै उमेर देखि मर्चा बनाउने सिप भएकी डल्लीमायाले विगत पाँच बर्ष देखि व्यवसायीक मर्चा उत्पादन र विक्री गर्न थालेको बताईन् । उनले घरमा आफुले बनाएको मर्चा बजारमा लगेर बेच्ने गरेको बताईन् । शुक्रबार भिमान बजार,शनिवार सिन्धुलीमाढी स्थित जनता हाट,बुधवार माढीबजार हाट र खनियाखर्क बजार समेत मर्चा बेच्न पुग्ने गरेको उनको भनाई छ ।

धान उत्पादन हुने खेत छैन । भएको एक दुई कठ्ठा बारीमा सिचाईको अभाव छ । छोराको जिविकोपार्जन बनिबुतो,मजदुरी गरेर हुन्छ,उनले भनिन,“हामी बुढाबुढी मर्चा बेचेर आएको आम्दानीले घरखर्च टारिरहेका छौँ ।” उनले जिल्लामा मर्चाले बजार राम्रो पाउने गरेको बताईन् ।

सिन्धुलीमा मर्चाको व्यापार राम्रो रहेकाले महोत्तरीको बर्दिवास नगरपालिका–१ तामाङ्ग बस्तिबाट समेत मर्चा विक्रीका लागी सिन्धुली ल्याउने गरेको जनाईएको छ । घरमा त्यत्तिकै बसेर समय विताउनु भन्दा मर्चा बेचेर घरायसी खर्च जुटाउन बर्दिबास देखि सिन्धुलीमा मर्चा विक्रीका लागी आएको बर्दिवास नगरपालिका–१ तामाङ्ग बस्तिका विमला तामाङले बताईन् ।

घरेलु मदिरा र लागुऔषधका कारण समाजमा मौलाउँदै गएको विकृतिले शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै प्रहरीले घरेलु मदिरा नष्ट गर्ने अभियान सञ्चालन गरिरहँदा सिन्धुलीका विभिन्न बजार र हाटमा खुल्ला रुपमा मर्चा उत्पादन र बिक्री भईरहेको छ । समुदाय—प्रहरी साझेदारी कार्यक्रम मार्फत समाजमा शान्ति सुरक्षाको अनुभूति दिलाउने अभियान शुरू गरेको नेपाल प्रहरीले समाजमा अशान्ति मच्चाउने पहिलो कारण घरेलु मदिरा रहेको जनाउदै आएको छ । केही समय पहिला सिन्धुली प्रहरीले घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा,मर्चा लगायतका सामग्री बरामद गरि नष्ट समेत गरेको थियो । पछिल्लो समय अभियानले निरन्तरता पाउँन नसक्दा खुल्लेआम जिल्लाका घर देखि विभिन्न बजारमा समेत लागु औषधका कच्चा पदार्थहरुको विक्री हुन थालेको छ ।

प्रतिक्रिया