बुधवार, कार्तिक १८ गते २०८३

Wednesday 4th November 2026

सुनकोशीमा जिल्लाकै नमुना सहिद स्मारक र बोटानिकल पार्क निर्माण हुने

सोमवार , कार्तिक ४, २०७६

सिन्धुली– सुनकोशी गाउपालिका–५,नागेडाँडाको टारीगाउँमा सिन्धुली जिल्लाकै नमुना सहिद स्मारक र बोटानिकल पार्क निर्माण हुने भएको छ । जनआन्दोलन र जनयुद्धमा बलिदानी दिएका सुनकोशीका १६ जना सहिदको शालिक सहित सिन्धुली जिल्लाका अन्य सहिदको स्मारक निर्माण हुन लागेको गाउँपालिका प्रमुख दिपा बोहोरा(दाहाल) ले जानकारी दिईन् ।

नागेडाँडाको टारीगाउँमा करिब दुई हेक्टर जग्गामा शहीद स्मारक र मुल्कोटमाथि बीपी राजमार्गसँग जोडिएको थुम्कोमा करिब तीन हेक्टर जग्गामा बोटानिकल पार्क निर्माण हुन थालेको उनले बताईन् ।

सहश्रधारा सामुदायिक वन क्षेत्रभित्र निर्माण भइरहेको स्मारक र पार्क दुवैमा खानेपानी, शौचालय र पानी रिचार्ज सेन्टर समेत निर्माण भइरहेको सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष प्रमोद दाहालले जानकारी दिए ।

डिभिजन वन कार्यालय मरिणका प्रमुख लोकराज नेपालले सामुदायिक वनको घना क्षेत्र रहेको नागेडाँडाको टारीगाउँमा सहिद स्मारक र मुल्कोट नजिकको सुख्खा डाँडामा बोटानिकल पार्कको विकास गर्न लागिएको बताए । उनले यस क्षेत्र सुख्खा भएकाले सुनकोशीको पानी तानेर बोटानिकल गार्डेनका रूपमा हरियाली बनाउने योजना रहेको सुनाउँदै बीपी राजमार्गमा आवतजावत गर्ने यात्रुले समेत पार्कमा केही बेर सुस्ताउने मौका पाउने बताए ।

उनका अनुसार प्रदेश सरकारको करिब एक करोड लागतमा सुनकोशीबाट पानी लिफ्ट गरी बोटानिकल पार्क र सहिद स्मारक क्षेत्रमा पु¥याइने छ । स्मारक क्षेत्रमा वनभोजस्थल समेत बनाइने छ । सुनकोसीबाट लिफ्ट गरिएको पानी नागेडाँडाका स्थानीय बासिन्दालाई समेत वितरण गरिने छ ।

प्रतिक्रिया