शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिजनभन्दा पहिलै हरियो जुनार बजारमा !

सोमवार , कार्तिक ४, २०७६

जुनार उत्पादनका लागि प्रशिद्ध सिन्धुली जिल्लामा सिजनभन्दा पहिले नै हरियो काँचो जुनार बजारमा आउन थालेको छ ।

गरिबीका कारण दशैंतीहारका लागि खर्च निकाल्न सिजन सुरु हुनु पहिले नै काँचो हरियो जुनार बिक्री गर्नु परेको किसानहरुले बताएका छन् । जुनार छिट्टै बोटबाट टिप्दा अर्को बर्ष फल्ने ग्यारेण्टी हुने र सिजनभन्दा पहिले बजारमा पुर्‍याउन सके भाँउ पनि राम्रो पाईने गोलान्जोर गाँउपालिका–४ तीनकन्या निवासी जुनार किसान बिरबहादुर आलेले बताए ।

उनले भने, “काँचो जुनार अहिले बोटबाटै प्रतिदाना तीनदेखि चार रुपैयासम्मका दरले बिक्री भई रहेको छ । व्यापारीले कृषकको घर–घरमा नै गई जुनार खरिद गरेका छन् ।” अहिले जुनारमा रोग लागेर बोटबाट दाना झर्ने समस्या रहेकोले पनि छिट्टै काँचो जुनार बिक्री गर्नु परेको उनको भनाई छ ।

सुई किरा(पुतली)ले फल चुस्दा बोटबाट पँहेलिएर फल झर्ने समस्या रहेको किसानले बताएका छन् ।

सिजनभन्दा पहिले नै बजारमा आएको हरियो जुनार उपभोक्ताले भने मँहगो मूल्य तिरेर उपभोग गर्न बाध्य भएका छन् । किसानसँग नभई बिचौलियासँग जुनार किन्नु परेकोले मूल्य महँगो परेको सदरमुकाम सिन्धुलीमाढीका व्यापारी बताउछन् । हरियो जुनार अहिले प्रति केजी ८० रुपैयाका दरले उपभोक्ताले खरिद गर्दै आएका छन् ।

यता, सिजनभन्दा पहिले नै काँचो जुनार बजारमा आउन थालेपछि जुनारको गुणस्तर जोगाउन जुनार विकास संघले काँचो जुनार बिक्री नगर्न किसानलाई अनुरोध गरेको छ । काँचो जुनार बिक्री गर्दा कागती जस्तै अमिलो हुने र त्यसले जुनारको पनि बद्नाम हुने भएकाले जुनार पाकेपछि मात्रै बिक्री गर्न किसानको घर–घरमा गई अनुरोध गरेको सङ्घले जनाएको छ ।

सङ्घका निर्बतमान् उपाध्यक्ष कृष्णप्रसाद गौतमले मंसिर महिना लागेपछि जुनारको सिजन सुरु हुने भएकाले किसानलाई त्यसबेलादेखि जुनार बिक्रि गर्न घर–घरमा गई सम्झाएको बताए ।

“गुणस्तरिय भएकाले अहिलेसम्म सिन्धुलीको जुनारले नेपालै नाम कमाएको छ”, उनले भने, “अर्कातिर काँचो मै बिक्रि गर्दा सिन्धुलीको जुनारको बद्नाम हुन्छ । भविष्यमा जुनारको बजार पनि साँघुरिन्छ ।”

काँचो जुनार बिक्रि नगर्न यसरी किसानको घर–घरमा गई सम्झाएको जिल्लामै पहिलो पटक भएको उनको भनाई छ ।

सिन्धुलीमा उत्पादित जुनार सदरमुकाम सिन्धुलीमाढी, काठमाण्डौ, बिराटनगर, तराईका विभिन्न बजारहरु र भारतको सितामाढी हुदै पटनासम्म निर्यात हुने गरेको किसानहरुको भनाई छ ।

जुनार विकास संघका अनुसार सिन्धुली जिल्लामा अहिलेसम्म एक हजार ३२५ हेक्टर जमिनमा जुनार खेती हुदै आएको र त्यसमध्ये ६२७ हेक्टरमा गरिएको जुनार खेतीले फल दिदै आएको छ । जिल्लामा गत बर्ष आठ हजार पाँच सय मेट्रिक्टन जुनार उत्पादन भएको थियो ।

दुई नगरपालिका र सात वटा गाँउपालिका गरी नौ वटा स्थानीय तह रहेको सिन्धुली जिल्लामा रतनचुरा, जलकन्या, बाशेश्वर, तीनकन्या, बितिजोर, मझुवा र दुम्जा लगायतका ठाँउ जुनार खेतीका लागि पकेट क्षेत्र रहेको संघले जनाएको छ ।

जिल्लामा यो बर्ष जुनार उत्पादन खडेरी र विभिन्न रोगको प्रकोपका कारण गत वर्षको तुलनामा आधा घटने कृषकहरुले अनुमान् गरेका छन् ।

प्रतिक्रिया