शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

गैयाटारका किसानले लगाएको केरा खेतीमा कोत्रे किराको प्रकोप

सोमवार , कार्तिक ४, २०७६

कमलामाई नगरपालिका–५,गैयाटारका किसानले लगाएको केरा खेतीमा कोत्रे र गबारो किराको प्रकोप देखिएको छ । केरा उत्पादन क्षेत्रका रूपमा विकसित हुन थालेको गैयाटारको केरा खेतीमा कीराको प्रकोप देखिएको हो ।

केरामा कोत्रे,गबारो,ढुसी,जुका लगायत कीरा देखिन थालेपछि व्यवसायिक रुपमा केरा खेती गर्ने किसान चिन्तित भएका छन् । गैयाटारको गैयादेवी सामुदायिक लद्यु उद्यमी समुहमा आवद्ध १९ जना महिला किसानले व्यवसायिक केरा खेती सुरु गरेका छन् ।

उनिहरु प्रत्येकले एक सय ५० बोट भन्दा बढी केराका बोट लगाएका छन् । केरा खेतीबाट मनग्य आम्दानी लिन सकिने आशामा लगाएको केरा खेतीमा किराको प्रकोप देखिए पछि नियन्त्रण कसरी गर्ने भन्ने चिन्ता बढेको गैयाटारको गैयादेवी सामुदायिक लद्यु उद्यमी समुहका अध्यक्ष संजिता सुवेदीले सुनाईन् । सिंचाईको अभावमा लगाईएको केरा खेतीमा किराको प्रकोप देखिए पछि व्यवसायिक केरा खेती गर्न थालेका किसान निरास हुन थालेका छन् ।

कृषि प्राविधिक लक्ष्मी श्रेष्ठले केरा खेतीमा कोत्रे र गबारो कीराको प्रकोप देखिएको पृष्ठी गरिन् । उनले आईतबार खेतीमा गएर अनुगमन गरे पछि सिन्धुली सौगातलाई केरामा कोत्रे र गबारो कीरा लागेको जानकारी दिएकी हुन् । मालभोग जातको केरामा कोत्रे र गबारो किराको समस्या बढी देखिएको उनको भनाई छ ।

कृषि प्राविधिक श्रेष्ठका अनुसार केरामा खेतीमा गुवो कुहिने रोग स्यूडोमोनास सोलानासियाराम नामक ब्याक्टेरियाबाट हुने गर्दछ । यो रोग लाग्दा केराको बोटको भित्री भाग कुहिन्छ । गुवो कुहिने भएकोले बोट फल नलागी मर्दछ । रोगी बोटको पातहरु पहेलिन्छन । रोग लागेको बोटको रोगी भाग काटेर सफा पानीले भरिएको गिलासमा राखी हेर्दा पानीमा सेतो धुँवा जस्तो निस्केको देखिन्छ । यो रोग किरा, औजार, माटो र रोगी बोटबाट पनि सर्छ ।

यसको व्यवस्थापनको लागि रोगी बोट हटाउनु पर्छ । रोगी बोट हटाउन प्रयोग गरिने औजारहरू फर्मालिन एक भागमा ३ भाग पानी भएको घोलमा डुवाइ उपचार गर्न कृषि प्राविधिक श्रेष्ठले सुझाव दिईन् ।

केरामा कोत्रे रोग माइकोसफारेल्ला मुसीकोला र सरकोस्पोरा मुस्याइ नामक ढुृसीवाट लाग्ने उनले बताईन् । यो रोग लाग्दा शुरुमा पातमा हल्का पँहेलो देखि खैरा थौप्लाहरू देखा पर्छन् । उपयुक्त वातावरण भएमा रोग पुरै पातमा फैलिइ खैरो भएर मर्दछ । यो रोगको व्यवस्थापनको लागि कपरअक्सिक्लोराइड नामक विषादी छर्न सकिने उनको भनाई छ ।

प्रतिक्रिया