कुश्वेश्वर, दुम्जा–९, सिन्धुलीका स्थायी बासिन्दा रिम्पोछे छोल्टिम दोर्जे योन्तान योञ्जन टुल्कु लामा भनिने ज्ञानबहादुर लामालाई उच्च अदालत पाटनले ७ वर्ष कैद र ३० लाख रुपैयाँ क्षतिपुर्तिको फैसला गरेको छ । धार्मिक विधिबाट उपचारका नाममा गुम्बामा लगेर युवतीहरूको यौन शोषण गरेको आरोपमा उच्च अदालत पाटनले उक्त फैसला गरेको हो ।
५६ वर्षीय लामाले विगत १० वर्षदेखि काठमाडौँको दक्षिणकाली, चाल्नाखेलमा पेमा तासी छुलिङ घोम्बो कासुङ गुम्बा खोलि डर, त्रास, धाक देखाई, करकाप र झुक्यानमा पारी एवं शरीर बन्धक राखी युवतीमाथि करणी गरेको ठहर गर्दै अदालतले सजाय तोकेको हो । निर्दोष ठहर गर्ने जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालत पाटनका न्यायाधीशद्वय टेकनारायण कुँवर र रमेशबहादुर थापाको इजलासले ‘धर्मगुरु’ सहित उनकी सहयोगीलाई साइबर अपराधमा समेत दोषी ठहर गरेको छ ।
दैवी शक्ति प्राप्त भएकाले जस्तोसुकै रोग निको पार्न सक्ने भ्रम फैलाएका लामालाई मानिसहरूले ५० लाखसम्म दान गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो । कतिपय मानिसहरू पैसा भएर पनि उपचार नभएपछि तनावमा हुन्छन्, टुल्कुले उनीहरूलाई भ्रममा पारेको देखिन्छ । १२ रोपनीमा बनेको उनको गुम्बा नेपाल सरकारको कुनै निकायमा दर्ता भएको छैन ।
छालासम्बन्धी रोग लागेकी एक महिलालाई आमाबाबुले झारफुक गराएर निको बनाउन २०६६ जेठमा लामाकहाँ पुर्योएका थिए । कपडा लगाएर उपचार गरे निको नहुने भनी निर्वस्त्र बनाएर झारफुक गरे । करिब २० दिनपछि लामाले उपचार गर्ने कोठामा निर्वस्त्र गराई जबर्जस्ती करणी गरे । लामाले उनलाई गुम्बामा बस्दा बाहिर निस्कन, परिवारसँग सम्पर्क गर्न र अरू पुरुषसँग कुराकानी गर्न दिँदैनथे । उनले लामो समयको शारीरिक तथा मानसिक यातना सहन नसकी २०७३ सालमा आमासँग कुराकानी गरिन् र गुम्बा छाडी घर फर्किइन । उनको विवाह हुने थाहापाएपछि लामाले उनको आपत्तिजनक अवस्थाका फोटो फेसबुकमा पोस्ट गरेका थिए । अति गरेपछि पीडित महिलाले प्रहरीमा किटानी जाहेरी दिइने र उनी पक्राउ परे । यसरी लामाको कर्तुतहरु सार्वजनिक भएको थियो । उनले विदेशि दम्पत्तिसँग पनि चन्दा र यौन शोषण गरेका थिए । प्रहरीमा किटानी पर्नासाथ एकपिच्छे अर्को पीडितहरुले उनी विरुद्ध उजुरी दिएका थिए ।