शनिवार, कार्तिक २८ गते २०८३

Saturday 14th November 2026

मदन भण्डारी लोकमार्ग तीब्र गतीमा निर्माण हुदै

बिहिवार , आश्विन ३०, २०७६

सिन्धुलीको हरिहरपुर गाँउपालिका क्षेत्रमा मदनभण्डारी लोकमार्ग कालोपत्रे गर्न सबबेस बिच्छ्याईदै । तस्बिर : बाबुराम देवकोटा, सिन्धुली

 

पूर्व–पश्चिम राजर्मागको बिकल्पको रुपमा लिईएको मदन भण्डारी लोकमार्गको निर्माण कार्य तीब्र गतीमा भई रहेको छ ।

सुनसरी, उदयपुर, सिन्धुली र मक्वानपुर जिल्लाको भित्री भागलाई जोड्ने २५० किलोमिटर लामो मदन भण्डारी (धरान–चतरा–सिन्धुली–हेटौडा) लोकमार्गलाई दुई खण्डमा विभाजन गरी धमाधम निर्माण भई रहेको सडक आयोजनाले जनाएको छ ।

आयोजनाका अनुसार सरकारको प्राथमिकतामा परेको उक्त लोकमार्गलाई उदयपुरको बसाहादेखि सिन्धुलीको कमलामाई नगरपालिका–९ भिमानसम्म १३५ किलोमिटर लम्बाई सडकलाई पुर्वी खण्ड र भिमानदेखि हेटौडा उप–महानगरपालिका–६ चौगडासम्म ११५ किलोमिटर लम्बाई सडकलाई पश्चिम खण्डमा विभाजन गरि निर्माण हुदै आएको छ । २०७३ साल कात्तिकमा सम्झौता गरि निर्माण सुरु गरिएको उक्त लोकमार्ग २०७७ कात्तिक महिनासम्म सक्ने लक्ष्य छ । दुवै खण्डमा गरि सडक निर्माणको काम ६० प्रतिशत र पुल निर्माण ८० प्रतिशत भन्दा बढी सकिएको छ ।

पूर्बी खण्डमा सडक निर्माणको काम ६० प्रतिशत र पुल निर्माणको काम ९० प्रतिशत सकिएको पूर्बी खण्ड आयोजना प्रमुख ललिजंग खनालले जानकारी दिए । “निर्माण पुरा भएको सडक मध्ये पनि ४० किलोमिटर कालोपत्रे सहित सकिएको छ,” उनले भने, “४३ वटा पुल निर्माण गर्नु पर्नेमा ३५ वटा पुल निर्माणको काम सकिएर गाडी नै चल्न थालि सकेको छ ।” सडक र पुल निर्माणको बाँकी काम युद्धस्तरमा भई रहेको उनले सुनाए ।

पूर्वि खण्ड सडक निर्माणको क्रममा खासै ठूलो समस्या नआएको र कतैकतै मुआब्जा सम्बन्धि विवाद रहेपनि समाधान हुने खालका रहेको उनको भनाई छ । पूर्बी खण्डमा पुल निर्माण भने लक्ष्य भन्दा पहिले नै सकिने आयोजनाले जनाएको छ ।

दुबै खण्डमा सडक, पुल, कज्वे, ह्युमपाईप, बक्स तथा स्ल्याब कल्भर्ट लगायतका संरचना धमाधम निर्माण भई रहेको आयोजनाले जनाएको छ । “पछिल्लो समयमा काम निकै अगाडी बढेको छ,” पश्चिम खण्ड आयोजनाका सूचना अधिकारी केसब ओझाले भने, “पश्चिम खण्डमा सडक निर्माणको काम ६० प्रतिशत र पुल निर्माणको काम ८० प्रतिशत भन्दा बढी सकि सकेको छ, अहिले धमाधम काम भई रहेको छ ।”

उनका अनुसार पश्चिम खण्डमा पनि हालसम्म ४० किलोमिटर सडक कालोपत्रे सहित निर्माण सम्पन्न भई सकेको छ । अहिले ठाँउ–ठाँउमा कालोपत्रे गर्न सब्बेस हाल्ने काम भई रहेको छ । पश्चिम खण्डमा ३३ वटा पुल निर्माण गर्नु पर्नेमा २० वटा बनि सकेको छ । बाँकी मध्ये १० वटाको जगको काम सकिएर माथि स्ल्याव हाल्ने तयारी भई रहेको छ । तीन वटाको रेखांकन विवादका कारण काम सुरु गर्न बाँकी रहेको छ ।

पश्चिम खण्डको सडक मध्ये कमलामाई नगरपालिकाको सदरमुकाम क्षेत्रमा छ किलोमिटर, मरिण गाँउपालिकाको अठवामा डेढ किलोमिटर र मकवानपुरमा करिब चार किलोमिटर सडकमा काम नै सुरु हुन सकेको छैन । ठूलो क्षेती हुने भन्दै स्थानीयले बैकल्पिक रेखांकनको माग गरेकाले काम सुरु हुन नसकेको सूचाना अधिकारी ओझाले जानकारी दिए ।

यि स्थानमा बैकल्पिक रेखांकन गर्न पूर्वसंभाव्यता समेत नभएकोले रेखांकनको प्रकृया चाँडै सुरु गरिने र बिबाद भएमा पहिलेकै ठाँउबाट सडक लगिने उनको भनाई छ ।

तीन बर्षमा निर्माण पुरा गर्ने लक्ष्य राखिएको उक्त लोकमार्ग निर्माणको जिम्मा पुर्वी खण्डतर्फ जेट आइइसी शर्मा एण्ड लामा जेभि र पश्चिम खण्डतर्फ कालिका, स्वच्छन्द, रकेन जेभिले लिएको छ । पहिलो लेयर ११ मिटर चौडाई र दोश्रो लेयरमा त्यसमाथि सात मिटर चौडाईमा कालोपत्रे गरिने आयोजनाले जनाएको छ ।

पश्चिम खण्डका सूचना अधिकारी ओझाका अनुसार लोकमार्गको चौडाई दायाबाँया गरी जम्मा ३० मिटर क्षेत्राधिकार रहने छ । २०७२ सालको राजपत्रमा निकालिएको सूचना अनुसार सडकको मुख्य केन्द्रबाट दायाँ १५ र बाँया १५ मिटर रहने व्यवस्था रहेको छ ।

२०६२ सालमा तराई आन्दोलन भएर पूर्व–पश्चिम राजमार्ग ठप्प हुदा चतरादेखि उदयपुरहुदै सिन्धुली र मक्वानपुर जिल्लाको चुरेको काछैकाछ् यातायात व्यावसायि आफैले बैकल्पिक मार्ग पहिल्याएका थिए । पछि सरकारले त्यसैलाई बैकल्पिक राजमार्गको रुपमा अघि सारेर राष्ट्रिय प्राथमिकता आयोजनाको रुपमा निर्माण सुरु गरेको स्थानीय बासिन्दा बताउछन् ।

मदन भण्डारी लोकमार्गको निर्माणसँगै सिन्धुली सहित सुनसरी, उदयपुर र मक्वानपुर जिल्लाको भित्री भागको विकासको ढोका खुलेको दुधौली नगरपालिकाका प्रबक्ता रितेस राउतले बताए । दुधौली नगरपालिका अन्तर्गत मदन भण्डारी लोकमार्गको निर्माण कार्य अन्तिम चरणमा रहेको पनि उनले जानकारी दिए ।

 

प्रतिक्रिया