सिन्धुली– जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चाडपर्वको मौका छोपी बढी भाडा लिने ३९ जना यात्रुहरुको भाडा फिर्ता गरि दिएको छ । दशै तिहार तथा अन्य चाडपर्वहरुलाई मध्यनजर गर्दै संचालन गरेको यात्रु सहायता कक्ष अभियानबाट बढी भाडा लिने ३९ यात्रुवाहक सवारी साधनलाई कार्बाही गरेको हो ।
शनिवार सम्ममा १० हजार ४ सय रुपैया भाडा यात्रुहरुलाई फिर्ता गराइएको ट्राफिक प्रहरी प्रमुख विष्णु बहादुर बस्नेतले जानकारी दिए । यस्तै यात्रुबाट बढी भाडा दिने २ वटा हायस र १ वटा उईङगर गाडीलाई ९ हजार जरिवाना गरिएको उनले बताए ।
सिन्धुली प्रहरीले चाडपर्वहरुलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष संचालन गदै आइरहेको छ । राजमार्गमा चल्ने सवारी साधनमा हुन सक्ने चोरी, डकैती, भाडामा अनियमितता तथा अलपत्र परेका यात्रु र उनीहरुको सामानको सुरक्षाका लागि जिल्ला ट्राफिक प्रहरी कार्यलय सिन्धुलीले यात्रु सहायता कक्ष संचालन गरेको हो ।
उनले सवारी चालकले ट्राफिक नियम विपरित सवारी साधन चलाएकाले त्यस्ता सवारी साधनलाई समेत कारबाही गरिएको बताए । चाडबाडका समयमा क्षमता भन्दा बढी यात्रु बोक्ने गरेको,काजगपत्र नबोकेको र बढी भाडा असुल्ने बाहानामा रिर्जाभमा मात्र जाने गरेको सवारी साधनहरुलाई कारबाहीको दायरामा ल्याउने काम पनि भईरहेको उनको भनाई छ ।
ट्राफिक प्रहरीले कनैपनि सवारी साधनले दुख दिएको खण्डमा यात्रु सहायता कक्षामा आएर खबर गर्न अनुरोध गरेको छ । दशैंका लागि गाउँघरमा आएका नागरिकहरु दशैं मनाएर आ–आफ्नो कर्मथलो फकर्ने भएकाले जिल्लामा सवारी साधनको चाप बढेको छ ।
यात्रु धेरै र सवारी साधन कम हुँदा शनिवार सिन्धुली सदरमुकाम सिन्धुलीमाढीबाट काठमाडौँ जाने कतिपय यात्रु बसमा टिकट नपाएर विचल्ली भएका थिए । टिकट पाएका यात्रुहरु पनि कष्टकर यात्रा गर्न बाध्य भएको यात्रुहरुले बताएका छन् ।