सिन्धुलीमा चल्ने लामो तथा छोटो दुरीका यातायातका साधनले तोकिएको सिटभन्दा बढी यात्रु बोक्ने गरेका छन् । ग्रामिण क्षेत्रबाट सदरमुकाम भित्रिने यातायातका साधनले क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिमसँगै यात्रुलाई सास्ती हुने गरेको हो ।
तोकिएको सिट क्षमता भन्दा बढी यात्रु राख्ने सार्वजनिक सवारी साधनलाई कारबाही हुने व्यवस्था भए पनि जिल्लाका ग्रामिण सडकमा क्षमता भन्दा बढी यात्रु बोक्ने सवारीका साधनलाई कारवाही हुन सकेको छैन् ।
जिल्लाको कमलाखूज सडक खण्डमै चल्ने यातायातका साधनले कोचीकोची यात्रु बोक्ने गरेका छन् । यो सँगै जिल्लाका विभिन्न ठाउँमा यातायात व्यवसायीको यस्तै मनपरी चल्ने गरेको एक यात्रु शिव दनुवारले बताए । “कोचाकोचको यात्राले बालक, अशक्त नागरिक तथा बृद्धवृद्धा बढी समस्यामा पर्ने गरेका छन् । ट्राफिक प्रहरीको चेकपोष्ट नजिकै यात्रु झार्ने र चेकपोष्ट कटेपछि फेरी कोचाकोचमै यात्रा गर्नुपर्ने बाध्यता रहेको” उनले सुनाए । प्रहरी देख्दा यात्रुहरुलाई पैदल हिडाउने र प्रहरीको आँखा छलेर फेरि गाडीमा चढाउने काइदा पनि उनीहरुले अपनाउने गरेका छन् ।
भिडियो हेर्नुस
जिल्लामा चल्ने लामो तथा छोटो दुरीका सवारीका साधनमा आरक्षण सिट पनि कार्यान्वयनमा आउन सकेको छैन् । जसका कारण बृद्धबृद्धा तथा अशक्त बढी समस्यामा पर्ने गरेका छन् । सिन्धुलीको ग्रामिण क्षेत्रमा मात्रै त सवारी साधन चालकको मनपरी छ नै । सिन्धुली सदरमुकाममा समेत सवारी चालकको मनपरी चल्ने गरेको छ । ट्राफिक प्रहरीको आँखा छलेर उनिहरुले लामो तथा छोटो दुरीका सवारी साधनमा कोचाकोच गरेर जोखिमपुर्ण यात्रा गराईरहेको यात्रुहरु बताउँछन् ।
जिल्लाको ग्रामिण क्षेत्रहरु घ्याङ्गलेख गाउँपालिका,गोलन्जोर गाउँपालिकाको माथिल्लो क्षेत्र,कमलामाई नगरपालिकाको वडा नम्बर ३ लगाएतका क्षेत्रहरुबाट सिन्धुली सदरमुकाम आउने तथा सिन्धुली सदरमुकामबाट ग्रामिण क्षेत्रमा जाने डबलक्याप वोलेरोमा झनै यात्रुहरु जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन् ।
गोलन्जोर गाउँपालिका–३ का मिश्रा देवि कार्कीले आफ्नो क्षेत्रमा एउटा मात्रा डबलक्याव गाडी चल्ने भएकाले कोचाकोचमै जोखिम यात्रा गर्नु परेको बताईन् । गाउँबाट सदरमुकाम आवातजावत गर्ने धेरै र गाडी कम भएकाले समस्या हुने गरेको उनको भनाई छ ।
यसैबीच जिल्ला ट्राफिक कार्यालय सिन्धुलीका ट्राफिक प्रमुख विष्णु बहादुर बस्नेतले जिल्लाबाट छुट्ने तथा भित्रिने सवारीका साधनमा निगरानी बढाएको बताए । उनले यात्रुहरुलाई समेत क्षमता भन्दा बढी मात्रामा यात्रु बोक्ने सवारीमा नचढ्न सुझाव दिए । उनले यातायातका साधन पर्याप्त मात्रामा नहुँदा समस्या समाधान हुन नसकेको स्विकार गरे । उनले क्षमताभन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम हुने भन्दै सिट क्षमताभन्दा बढी यात्रु नबोक्न सवारीधनीलाई आग्रह गरे ।
तोकिएको क्षमता भन्दा बढी यात्रु बोकेको पाइएमा तीन पटकभन्दा बढी कारर्वाहीमा परेका चालकको लाइसेन्स ६ महिनाका लागि निलम्वन गरिने कानुनी व्यवस्था छ ।