सिन्धुली,०७ मंसिर – कमलामाई नगरपालिकाको चुनावी राजनीतिक गतिविधिसँगै विभिन्न राजनीतिक दल तथा नेताहरूका प्रचार गतिविधि पनि सार्वजनिक हुन थालेका छन् । यसैक्रममा नेकपा (एमाले) सँग आबद्ध कर्ण घिसिङको तस्बिरसहितको प्रचार सामग्री सार्वजनिक भएको छ । उक्त सामग्रीमा उनको शैक्षिक क्षेत्रसँगको संलग्नता, सामाजिक योगदान र पार्टीभित्रको संगठनात्मक अनुभवलाई प्रमुखताका साथ प्रस्तुत गरिएको छ ।
सार्वजनिक प्रचार सामग्रीअनुसार घिसिङले गोमती नमुना माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षका रूपमा जिम्मेवारी सम्हालेका उल्लेख छ । त्यसैगरी गौमती बहुमुखी क्याम्पसको अध्यक्षका रूपमा पनि काम गरेको उल्लेख गरिएको छ । यी जिम्मेवारीलाई उनको शैक्षिक क्षेत्रसँगको संलग्नताका रूपमा प्रस्तुत गरिएको छ ।
त्यस्तै, कमलामाईका पूर्वमेयर खड्ग खत्रीको कार्यकालमा महत्वपूर्ण भूमिका निर्वाह गरेको, दुई कार्यकाल जिल्ला उपाध्यक्षको जिम्मेवारी सम्हालेको र पार्टी संगठनभित्रका विभिन्न समस्यामा सक्रिय भूमिका खेलेको दाबी पनि प्रचार सामग्रीमा गरिएको छ ।
घिसिङको प्रचार सन्देशमा जातजाति, भाषा, समुदाय र संस्कृतिको संरक्षण, भ्रष्टाचारविरुद्धको अडान तथा पार्टी संगठनप्रतिको प्रतिबद्धतालाई समेत प्राथमिकता दिइएको छ । आफ्नो राजनीतिक अनुभव र स्पष्ट अडानलाई पनि उनले सार्वजनिक गरेको चुनावी सन्देशको मुख्य आधार बनाएका छन् । प्रचार सामग्रीमा मतदातालाई सूर्य चिन्हमा मतदान गरी नेकपा (एमाले) लाई विजयी गराउन अपिल गरिएको छ ।
चुनावी प्रचारसँगै जवाफदेहिताको प्रश्न पनि महत्वपूर्ण
राजनीतिक प्रतिस्पर्धामा उम्मेदवारले आफ्नो अनुभव, संगठनात्मक भूमिका र सामाजिक योगदानलाई चुनावी मुद्दाका रूपमा प्रस्तुत गर्नु स्वाभाविक हो। तर सार्वजनिक जिम्मेवारी सम्हाल्न चाहने व्यक्तिका लागि विगतमा निर्वाह गरेका जिम्मेवारी, त्यसबाट हासिल भएका उपलब्धि, पारदर्शिता र आगामी कार्ययोजना पनि उत्तिकै महत्वपूर्ण हुन्छन् ।
कमलामाईको चुनावी बहसमा अब व्यक्तिगत परिचय र राजनीतिक दाबीसँगै नगर विकासको दृष्टिकोण, सार्वजनिक जवाफदेहिता र नागरिकका अपेक्षाले कति स्थान पाउँछन् भन्ने विषय चासोको विषय बनेको छ ।