शनिवार, कार्तिक २१ गते २०८३

Saturday 7th November 2026

आज काग तिहार मनाइँदै, यमपञ्चक पर्व सुरु

शनिवार , कार्तिक २१, २०८३

काठमाडौं, २१ कात्तिक - नेपालीहरूको दोस्रो ठूलो चाड तिहारअन्तर्गत यमपञ्चक आज शनिबार काग तिहार मनाएसँगै सुरु भएको छ। यमराजको दूत मानिने कागलाई पूजाआराधना गरी मनपर्ने खानेकुरा खुवाएर यो पर्व मनाउने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार शास्त्रीय मान्यताअनुसार सूर्योदयका समयमा त्रयोदशी तिथि परेको दिन काग तिहार मनाउनुपर्छ। यस वर्ष शनिबार बिहान त्रयोदशी तिथि परेकाले आज कागपूजा गर्नुपर्ने उनले जानकारी दिए।

भट्टराईका अनुसार बेलुकी त्रयोदशी तिथि परेको दिन यमदीप दान गर्ने धार्मिक विधान छ। सोहीअनुसार शुक्रबार साँझ यमदीप दान गरिएको थियो भने शनिबार काग तिहार मनाइँदै छ।

यस वर्ष धनवन्तरी जयन्ती पनि कात्तिक २१ गते शनिबार नै परेको छ। तिथिको घटबढका कारण कात्तिक २२ गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ।

समितिले सार्वजनिक गरेको पर्वतालिकाअनुसार कात्तिक २३ गते सोमबार गाईपूजा तथा कात्तिक २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवर्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा मनाइनेछ।

यमपञ्चकको प्रमुख दिन भाइटीका कात्तिक २५ गते बुधबार परेको छ। समितिले यस वर्ष भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटमा निर्धारण गरेको छ।

काग तिहारका अवसरमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित कागेश्वरी महादेव मन्दिर र हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा विशेष पूजाआराधना गरिन्छ।

धार्मिक विश्वासअनुसार कागले यमराजसमक्ष शुभ समाचार पुर्‍याओस् भन्ने कामनासहित यस दिन कागलाई पूजा गरी मनपर्ने भोजन अर्पण गरिन्छ। विशेषगरी कागलाई दही–भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश पुर्‍याउने जनविश्वास रहेको छ।

यसैबीच, शनिबारदेखि लगातार सार्वजनिक बिदा सुरु भएसँगै देशभर तिहारको चहलपहल र उत्सवी वातावरण बढेको छ।

 

प्रतिक्रिया