तनहुँ,२६ असोज – तनहुँको आँबुखैरेनी गाउँपालिका–६, डुम्रीडाँडामा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृ त्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
सोमबार साँझ ५ बजेर ४५ मिनेटमा बरादीबाट हिलेखर्कतर्फ जाँदै गरेको ग २ च ३२६९ नम्बरको बोलेरो जिप डुम्रीडाँडास्थित भित्री सडकखण्डमा दुर्घटनामा परेको हो ।
उकालो सडकमा जिप पछाडितर्फ सरेर सडक किनारबाट करिब ७ मिटर तल नालीमा खसेको जनाइएको छ। दुर्घटनामा जिपमा सवार ८ जनामध्ये ७ जना घाइते भएका थिए ।
घाइतेमध्ये आँबुखैरेनी गाउँपालिका–६, खापस्वाराकी ४७ वर्षीया इन्द्रमाया गुरुङको उपचारका क्रममा मृत्यु भएको हो। चिकित्सकले उनलाई साँझ ६ बजेर २० मिनेटमा मृत घोषणा गरेका थिए ।
दुर्घटनामा सोही स्थानका ४९ वर्षीय तोकबहादुर गुरुङ, २१ वर्षीया भारती गुरुङ, १४ वर्षीया अम्बिका गुरुङ, ६९ वर्षीय बकुलाल गुरुङ, ३५ वर्षीय सानोकान्छा गुरुङ र १६ वर्षीया रिश्मा गुरुङ घाइते भएका छन् ।
घाइते सबैको तनहुँस्थित आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि प्रहरीले जिप चालक आँबुखैरेनी गाउँपालिका–६, हिलेखर्कका ३३ वर्षीय लक्ष्मण गुरुङलाई नियन्त्रणमा लिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।