शनिवार, आश्विन २४ गते २०८३

Saturday 10th October 2026

सिन्धुलीमा  स्वास्थ्यकर्मीपछि  बिद्यालयका शिक्षकलाई प्रशिक्षण

शुक्रवार , आश्विन २३, २०८३


सिन्धुली ,२३ असोज – बालबालिकाको सर्वांगीण विकास, सकारात्मक पालनपोषण र गुणस्तरीय प्रारम्भिक शिक्षालाई समुदाय तथा विद्यालयस्तरमा प्रभावकारी बनाउने उद्देश्यले सिन्धुलीमा सञ्चालित २ छुट्टाछुट्टै क्षमता विकास कार्यक्रममध्ये अभिभावक शिक्षासम्बन्धी ४ दिने तालिम सम्पन्न भएको छ भने बालविकास सहजकर्ताका लागि ५ दिने तालिम सुरु भएको छ ।

प्लान इन्टरनेसनल नेपाल र मानव तथा राष्ट्रिय विकास समाज (ह्यान्ड्स नेपाल)को साझेदारीमा सञ्चालित थ्राइभिङ गल्र्स परियोजनाअन्तर्गत असोज २० देखि २३ गतेसम्म सिन्धुलीमाढीको धुराबजारमा आयोजित तालिममा सुनकोशी गाउँपालिका र कमलामाई नगरपालिकाका १२ महिला स्वास्थ्यकर्मीसहित परियोजनाका कर्मचारी सहभागी थिए ।

ह्यान्ड्स नेपालका वरिष्ठ कार्यक्रम संयोजक रामानन्द बैठाको सहजीकरणमा सम्पन्न तालिमले सहभागीलाई महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाका सुपरभाइजर तथा प्रशिक्षकीय सहयोगीका रूपमा सक्षम बनाउने लक्ष्य राखेको थियो ।

तालिममा प्रारम्भिक बालविकासको अवधारणा, महत्व, अभिभावकको भूमिका, अभिभावक शिक्षाका उद्देश्य, चरण र १२ सत्रका विषयवस्तु समेटिएका थिए । सहभागीले ‘५ स’ को प्रयोग, सत्रको पूर्वतयारी, सूक्ष्म शिक्षण, प्रस्तुतीकरण, समूहकार्य, घरभेट, फाराम प्रयोग, अभिलेख व्यवस्थापन तथा अनुगमन र मूल्याङ्कनको अभ्यास गरेका थिए ।

सहकर्मी प्रतिक्रिया र अनुभव आदानप्रदानसँगै अन्तिम दिन नियमित अनुगमन, प्रशिक्षकीय सहयोग, तालिम समीक्षा, सिकाइपछिको परीक्षण र कार्ययोजना निर्माण गरिएको थियो । प्राप्त सीपमार्फत स्वयंसेविकालाई प्राविधिक सहयोग उपलब्ध गराउँदै बालबालिकाको स्वास्थ्य, पोषण, संरक्षण र सकारात्मक पालनपोषण प्रवद्र्धन गर्ने प्रतिबद्धता सहभागीले जनाएका छन् ।

यसैबीच, सिन्धुलीका ६ स्थानीय तहका २० विद्यालयमा कार्यरत बालविकास सहजकर्ताका लागि असोज २३ देखि २७ गतेसम्म सञ्चालन हुने तालिम सिन्धुलीमाढीमा सुरु भएको छ ।

प्लान इन्टरनेसनल नेपालको साझेदारीमा ‘सशक्त बालिका ः सुरक्षित समाज’ परियोजनाअन्तर्गत जनजाति ह्यान्ड्स नेपाल,समाज विकास कार्यक्रम, सिन्धुलीलेनेपालले संयुक्त रूपमा तालिम आयोजना गरेका हुन् ।

जनजाति समाज विकास कार्यक्रमका अध्यक्ष प्रदीप लुङ्गेली मगरको अध्यक्षतामा सुरु कार्यक्रममा संयोजक सागर धितालले परियोजनाको उद्देश्य र तालिमको औचित्यबारे जानकारी गराएका थिए ।

प्रशिक्षक भीमा राईको सहजीकरणमा सञ्चालित तालिममा बालविकासका सिद्धान्त, विकासात्मक चरण, शारीरिक, मानसिक, सामाजिक तथा संवेगात्मक विकास, नीति, कानुनी व्यवस्था, परिमार्जित पाठ्यक्रम र सिकाइ मूल्याङ्कन मापदण्ड समेटिनेछन् ।

बालमैत्री, समावेशी तथा अपाङ्गतामैत्री वातावरण, विकासमा प्रभाव पार्ने तत्त्व, सहजकर्ताको भूमिका, पूर्वसाक्षरता, प्रारम्भिक गणित, कक्षाकोठा व्यवस्थापन र अभिभावक शिक्षा पनि प्राथमिकतामा छन् ।

खेल, कथा, कविता, सङ्गीत, कला, अभिनय, नमुना शिक्षण र एकीकृत सिकाइ विधिसँगै वार्षिकदेखि दैनिक कार्ययोजना निर्माण तथा स्थानीय स्रोतबाट न्यून वा शून्य लागतका सामग्री उत्पादन र प्रयोग सिकाइनेछ ।

दुवै कार्यक्रमबाट अभिभावक शिक्षाको निरन्तरता सुनिश्चित गर्दै बालबालिकाको उमेर, क्षमता र रुचिअनुसार सुरक्षित, सिर्जनात्मक तथा गुणस्तरीय प्रारम्भिक सिकाइ वातावरण विस्तार हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया