काठमाडौँ,२० असोज — नेपाली काँग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि ७११४ महाधिवेशन प्रतिनिधि मतदाता कायम भएका छन् । केन्द्रीय निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरेसँगै संशोधित विधानअनुसार गठन हुने २९७ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ ।
काँग्रेस १५औँ महाधिवेशन केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले निर्वाचनमा सहभागी हुने प्रतिनिधिको अन्तिम नामावली प्रकाशन गरिएको जानकारी दिए । देश तथा विदेशबाट महाधिवेशनमा सहभागी हुन करिब ७५०० प्रतिनिधि काठमाडौँ आइपुगे पनि निर्वाचन प्रयोजनका लागि अन्तिम मतदाता सूचीमा ७११४ जना कायम भएका हुन् ।
निर्वाचन समितिको कार्यतालिकाअनुसार बिहान ९ः३० बजे मतदाता नामावलीमाथि दाबीविरोधको प्रक्रिया सुरु हुनेछ । बिहान ९ः३० बजेदेखि १०ः३० बजेसम्म प्राप्त दाबीविरोधमाथि जाँचबुझ गरी ११ः३० बजे अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको सदस्यसचिव कटुवालले बताए ।
मतदाता नामावलीसम्बन्धी प्रक्रिया सकिएलगत्तै उम्मेदवारी दर्ता सुरु हुनेछ । निर्वाचन समितिका अनुसार उम्मेदवारका लागि मनोनयन दर्ता फारम वितरण गरिनेछ भने दिउँसो १२ः३० बजेदेखि ४ बजेसम्म मनोनयनपत्र दर्ता गर्ने समय तोकिएको छ ।
यसैबीच, सोमबार बसेको महाधिवेशनको बन्दसत्रले पार्टी विधान संशोधन गरेको छ । संशोधित विधानअनुसार अब काँग्रेसको केन्द्रीय कार्यसमिति २९७ सदस्यीय हुनेछ । नयाँ व्यवस्थाअनुसार नै पार्टीको आगामी नेतृत्व चयन गरिने काँग्रेसले जनाएको छ ।
महाधिवेशन व्यवस्थापनका लागि २०० भन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ । काँग्रेस केन्द्रीय सदस्य तथा स्वयंसेवक व्यवस्थापन समितिका संयोजक गणेश लामाले प्रतिनिधिको आवागमन, बन्दसत्र तथा निर्वाचन व्यवस्थापन सहज बनाउन स्वयंसेवक खटाइएको बताए ।
उनका अनुसार बन्दसत्र हुने क्षेत्र र निर्वाचनस्थलमा स्वयंसेवक परिचालन गरिएको छ । प्रतिनिधिलाई आवश्यक सहजीकरण गर्ने, कार्यक्रमस्थल व्यवस्थित राख्ने र निर्वाचन प्रक्रियामा समन्वय गर्ने जिम्मेवारी उनीहरूलाई दिइएको छ ।
आइतबारदेखि सुरु भएको काँग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज र भोलि बन्दसत्र सञ्चालन गर्ने तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ । बन्दसत्रमा पार्टी सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले आ–आफ्ना छुट्टाछुट्टै प्रतिवेदन प्रस्तुत गरेका छन् ।
मतदाता सूची टुंगिएसँगै काँग्रेस महाधिवेशन अब उम्मेदवारी मनोनयन र नेतृत्व चयनको निर्णायक चरणमा प्रवेश गरेको छ ।