नुवाकोट,१९ असोज – नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन प्रक्रियाअन्तर्गत नुवाकोट क्षेत्र नम्बर २ को मतगणना विवादमा तानिएको छ । खुला पुरुषतर्फ मतगणना भइरहेका बेला पार्टीका प्रभावशाली नेता अर्जुननरसिंह केसी र उनका भाइ जगदीश्वर नरसिंह केसीको मतस्थिति कमजोर देखिएपछि केन्द्रबाट गणना रोक्न निर्देशन आएको दाबी गरिएको छ । यही कारण क्षेत्रबाट छानिनुपर्ने महाधिवेशन प्रतिनिधिको अन्तिम परिणामबारे अन्योल कायम छ ।
नुवाकोट क्षेत्र नम्बर २ बाट विभिन्न क्लष्टरसमेत गरी ३३ जना महाधिवेशन प्रतिनिधि चयन गर्नुपर्नेछ । काठमाडौंमा काँग्रेस महाधिवेशनअन्तर्गत बन्दशत्र सुरु हुँदै गर्दा उक्त क्षेत्रको प्रतिनिधि चयन भने विवादकै घेरामा परेको हो ।
आइतबार बेलुकीसम्म ६९५ मत गणना हुँदा विशेष महाधिवेशनपछि सहमहामन्त्री बनेका बहादुरसिंह लामा ५६१ मतसहित पहिलो स्थानमा थिए । सोही समय अर्जुननरसिंह केसीले २७२ मत ल्याएका थिए भने उनका भाइ जगदीश्वर नरसिंह केसीले २६६ मत प्राप्त गरेका थिए । गणनाको त्यस चरणमा अर्जुननरसिंह अन्तिमबाट दोस्रो र जगदीश्वर अन्तिम स्थानमा रहेको विवरण सार्वजनिक भएको थियो ।
यही मतपरिणामले केसी दाजुभाइ पराजित हुने सम्भावना बलियो देखिएपछि आइतबार राति केन्द्रबाट मतगणना स्थगित गर्न सूचना आएको बताइएको छ । त्यसपछि गणना रोकिएको थियो । मतगणना रोक्ने निर्णयले काँग्रेसभित्र आन्तरिक प्रतिस्पर्धा, शक्ति समीकरण र केन्द्रको भूमिकामाथि समेत प्रश्न उठाएको छ ।
नुवाकोट क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित जिल्ला सचिव बैकुण्ठ मिश्रले भने रोकिएको गणना पुनः सुरु गर्ने सहमति भइसकेको बताएका छन् । परिणाम सार्वजनिक हुने समयबारे उनले भने, “३ बजेसम्म परिणाम आउने कुरा छ ।”
तर क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति सिंहराज तामाङको भनाइ भने मिश्रको विवरणसँग मेल खाँदैन । तामाङका अनुसार मतगणना सम्पन्न भइसकेको छ र निर्वाचित प्रतिनिधिलाई शपथ गराउने तयारी भइरहेको छ ।
तामाङले खुला पुरुषतर्फ अर्जुननरसिंह केसी, जगदीश्वर नरसिंह केसी र सुरेन्द्र अधिकारी विजयी भएको दाबी गरेका छन् । उनका अनुसार अन्य सबै क्लष्टरमा भने बहादुरसिंह लामा पक्षधर उम्मेदवारले जित हासिल गरिसकेका छन् ।
एकातिर जिल्ला सचिवले पुनः मतगणना हुने बताइरहेका छन् भने अर्कोतिर क्षेत्रीय सभापतिले गणना सकिएको र विजेताको नामसमेत सार्वजनिक गरिरहेका छन् । एउटै निर्वाचन प्रक्रियाबारे जिम्मेवार नेताबाट फरक–फरक विवरण आउनुले विवाद थप गहिरिएको छ ।
विशेषतः प्रारम्भिक मतगणनामा कमजोर देखिएका केसी दाजुभाइ अन्ततः विजयी भएको दाबी सार्वजनिक भएपछि मतगणना स्थगनको कारण, त्यसपछिको प्रक्रिया र अन्तिम परिणामप्रति थप चासो बढेको छ । औपचारिक र प्रमाणित नतिजा सार्वजनिक नभएसम्म नुवाकोट क्षेत्र नम्बर २ को महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी विवाद भने पूर्ण रूपमा साम्य हुने देखिँदैन ।