सिन्धुली,१९ असोज — विद्यालयलाई सम्भावित विपद्को सामना गर्न सक्षम बनाउने उद्देश्यसहित सिन्धुलीमा सञ्चालित ४ दिने ‘बृहत् विद्यालय सुरक्षा तथा जोखिम न्यूनीकरण सम्बन्धी तालिम’ सम्पन्न भएको छ । “सशक्त बालिका ः सुरक्षित समाज” परियोजनाअन्तर्गत असोज १६ देखि १९ गतेसम्म कमलामाई नगरपालिका–६ मा सञ्चालन गरिएको तालिममा जिल्लाका ६ स्थानीय तहअन्तर्गत २० विद्यालयका विपद् फोकल पर्सनसहित शिक्षक तथा सरोकारवालाको सहभागिता थियो ।
मानव तथा राष्ट्रिय विकास समाज (ह्याण्ड्स नेपाल) र जनजाती विकास समाज को आयोजना तथा प्लान इन्टरनेशनल को साझेदारीमा सञ्चालित तालिममा विपद् जोखिम न्यूनीकरणसम्बन्धी सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सिकाइलाई प्राथमिकता दिइएको थियो । तालिमको सहजीकरण रामकुमार दाहालले गरेका थिए ।
तालिमकै क्रममा कमलामाई नगरपालिकास्थित श्री कालिका माध्यमिक विद्यालय, जरायोटारमा कृत्रिम विपद् प्रतिकार्य अभ्यास (सिमुलेसन÷ड्रिल) गरिएको थियो । अभ्यासमा शिक्षक र विद्यार्थीलाई प्रत्यक्ष सहभागी गराउँदै भूकम्प, आगलागी तथा अन्य सम्भावित विपद्का बेला अपनाउनुपर्ने सुरक्षा विधि, उद्धार प्रक्रिया, प्राथमिक उपचार र आपतकालीन पूर्वतयारीबारे अभ्यास गराइएको थियो । विपद्को समयमा आत्तिनुभन्दा धैर्यपूर्वक सुरक्षित व्यवहार अपनाउने क्षमता विकासमा यस्तो अभ्यास उपयोगी हुने आयोजकको विश्वास छ ।
परियोजनाका कार्यक्रम अधिकृत प्रमिला तामाङका अनुसार कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका र तीनपाटन गाउँपालिकाका २० विद्यालयका विपद् फोकल पर्सन तालिममा सहभागी भएका थिए । विद्यालयलाई विपद् प्रतिरोधी बनाउने, विद्यालयस्तरीय विपद् व्यवस्थापन योजना तयार गर्ने र आपतकालीन अवस्थामा तत्काल प्रभावकारी कदम चाल्न सक्ने क्षमता विकास गर्नु तालिमको प्रमुख उद्देश्य रहेको उनले बताइन् ।
समापन कार्यक्रममा ह्याण्ड्स नेपालका अध्यक्ष वासुदेव अधिकारीले नेपालको भौगोलिक बनावट र जलवायु परिवर्तनका कारण मुलुक विभिन्न प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको बताए । उनले भने, “नेपालमा वर्षेनि विपद्का कारण ठूलो मात्रामा धनजनको क्षति हुने गरेको छ । यस्तो संवेदनशील अवस्थामा बालबालिकाहरू सबैभन्दा बढी प्रभावित हुने गर्दछन्। त्यसैले विद्यालय तहबाटै पूर्वतयारी र सुरक्षा सतर्कता अपनाउनु अपरिहार्य छ र यस तालिमको उपादेयता अत्यन्तै महत्वपूर्ण रहेको छ ।”
अधिकारीले विपद् जोखिम न्यूनीकरणसम्बन्धी ज्ञानलाई विद्यालयको पाठ्यक्रमसँगै दैनिक व्यवहारमा समेत जोड्नुपर्ने आवश्यकता औंल्याए ।
सहभागीहरूले ४ दिनमा हासिल गरेको ज्ञान र सीप विद्यालय सुरक्षा रणनीति निर्माणमा उपयोगी हुने बताएका छन् । उनीहरूले यस्ता तालिम विद्यालयमा मात्र सीमित नराखी समुदाय र अभिभावकसम्म विस्तार गर्नुपर्ने धारणा राखे । घर र समुदाय सुरक्षित नभएसम्म विद्यालयको सुरक्षा पूर्ण नहुने भन्दै सहभागीहरूले स्थानीय तहलाई विपद् पूर्वतयारी र जोखिम न्यूनीकरणलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।