चितवन,१९ असनोज — कालिका नगरपालिका–५ स्थित वडा कार्यालय चोकमा ट्याक्टर र बलेरो जिप एकआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमवार दिउँसो १ः३५ बजे मचौली टोलबाट लंकालाईनतर्फ जाँदै गरेको ना ६ त ६४४४ नम्बरको ट्याक्टर र कामिनीघाटबाट बनकट्टातर्फ जाँदै गरेको बा.प्र.३–०१–०२४ च ३४७३ नम्बरको बलेरो जिप ठोक्किएका हुन् ।
दुर्घटनामा गम्भीर घाइते कालिका नगरपालिका–३ की ३५ वर्षीया लक्ष्मी परियारको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा २ः३९ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा कालिका–३ की ५२ वर्षीया सावित्री माझी, कालिका–७ की २६ वर्षीया उमा श्रेष्ठ, कालिका–३ की २५ वर्षीया कविता परियार, ४३ वर्षीया मैया कुमारी लोप्चन, २२ वर्षीया जुनी सुनार, २० वर्षीया उमा वाईवा, २० वर्षीया पवित्रा वि.क., ४२ वर्षीया लाल कुमारी गुम्वा र ३५ वर्षीया सितामाया श्रेष्ठ घाइते भएका छन् । बलेरो चालक कालिका–३ का ३९ वर्षीय कोमल बहादुर श्रेष्ठ पनि घाइते छन् ।
घटनालगत्तै खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरी पुरानो मेडिकल कलेज भरतपुर पुर्याएको थियो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले ट्याक्टर चालक कालिका नगरपालिका–१ का ४२ वर्षीय बिके श्याङ्वोलाई नियन्त्रणमा लिएको छ । बलेरो चालक उपचाररत छन् । दुर्घटना के कारणले भयो भन्नेबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।