मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, पाँच जना घाइते

शुक्रवार , आश्विन १६, २०८३

सिरहा,१६ असोज — सिरहाको कर्जन्हामा भएको सडक दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्जन्हा नगरपालिका–४ भुल्के क्षेत्रमा यात्रुवाहक विद्युतीय गाडीलाई विपरीत दिशाबाट आएको टिपरले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पूर्वतर्फबाट पश्चिम दिशातर्फ गइरहेको मधेस प्रदेश ०१–००१ ज ०१२४ नम्बरको विद्युतीय (इभी) गाडीलाई विपरीत दिशाबाट आइरहेको मधेस प्रदेश ०३–००२ ख ३९९६ नम्बरको टिपरले ठक्कर दिएको थियो । दुर्घटनामा विद्युतीय गाडीमा सवार गोलबजार नगरपालिका–४ निवासी ४५ वर्षीया शोभाकुमारी गम्भीर घाइते भएकी थिइन् ।

घाइते शोभाकुमारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रमेशबहादुर पालले जानकारी दिए । मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल सिरहामा राखिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका पाँच जनामध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइतेमध्ये गोलबजार नगरपालिका–की २२ वर्षीया प्रियङ्का यादवलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको सूचना अधिकारी पालले बताए । अर्की घाइते गोलबजार नगरपालिका–६ की ४५ वर्षीया ललिता महतोलाई थप उपचारका लागि विराटनगर पठाइएको उनले जानकारी दिए ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न टिपरका चालक र टिपरलाई नियन्त्रणमा लिइएको छ । घटनाको कारण, दुर्घटनाको अवस्था तथा अन्य विवरणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

राजमार्ग क्षेत्रमा तीव्र गति, चालकको लापरबाही वा अन्य प्राविधिक कारणका कारण हुने दुर्घटना न्यूनीकरणका लागि सावधानी अपनाउनुपर्ने देखिएको छ । पछिल्लो घटनाले राजमार्गमा सवारी सञ्चालन गर्दा थप सतर्कता आवश्यक रहेको पुनः स्मरण गराएको छ ।

प्रतिक्रिया