काठमाडैं ,१६ असोज – एउटै चालक ६ वर्षको अवधिमा ७२९ पटक ट्राफिक कारबाहीमा परेको तथ्य बाहिर आएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार अनौठो अवस्था सिर्जना भयो । पटकपटक ट्राफिक नियम उल्लंघन गर्ने ती चालकको विवरण हेर्दा स्वयं ट्राफिक प्रहरी अधिकारीहरू समेत अचम्मित बने ।
मकवानपुर घर भएका चालक रामबहादुर बिष्टलाई पछिल्लो समय रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालयमा बारम्बार देखिन थालेपछि ट्राफिक प्रहरी अधिकारीहरूको ध्यान उनीतर्फ गएको थियो । उनले चलाउने सवारीसाधन नम्बर बा १६ च ८०६४ हो । ट्राफिक एसपी नरेशराज सुवेदीले कर्मचारीसँग चालकको विवरणबारे जानकारी लिँदा “पटकपटक कारबाहीमा पर्ने चालक हुन्, ७÷८ सय पटक त कारबाही नै भएको होला╞ भन्ने जवाफ पाएपछि रेकर्ड जाँच गर्न निर्देशन दिएका थिए ।
रेकर्ड परीक्षण गर्दा बिष्ट ७२९ पटक ट्राफिक कारबाहीमा परिसकेको भेटिएपछि एसपी सुवेदीले उनलाई कार्यालय बोलाएर वास्तविक अवस्था बुझ्ने प्रयास गरे । करिब आधा घण्टासम्म भएको छलफलमा प्रहरीले उनको पेसा, सवारी चलाउने तरिका, कहाँ–कहाँ गाडी चलाउने, के सामान ढुवानी गर्ने, परिवारलगायत व्यक्तिगत विषयमा समेत जानकारी लिएको थियो ।
“७२९ पटक कारबाही भइसकेको भन्ने सुन्दा अचम्म लाग्यो । कसरी गाडी चलाउनुहुन्छ, किन पटकपटक यस्तो भइरहेको छ भन्ने बुझ्न बोलाएका हौं,” एसपी सुवेदीले भने, “ट्राफिक नियमको बारेमा जानकारी गराउँदै यस्ता गल्ती नदोहो¥याउन सम्झाएर पठाएका छौं ।”
बिष्टले हार्डवेयर पसलका फलामजन्य सामग्री ढुवानी गर्ने गाडी चलाउँदै आएका छन् । ट्राफिक अभिलेखअनुसार उनलाई अधिकांश पटक ‘मालवाहक सार्वजनिक सवारीले सांकेतिक चिन्ह देखिने गरी नराखी चलाएको’ कसुरमा कारबाही गरिएको छ । उनले नम्बर प्लेट छोपेर चलाउने, गाडीको ढालाभन्दा बाहिर सामान निकालेर बोक्ने तथा पछाडिको ढाला खोलेर रडलगायत फलामजन्य सामग्री ढुवानी गर्ने गरेको पाइएको छ । केही घटनामा रातो बत्ती उल्लंघन र लेन क्रस गरेको कसुरमा समेत कारबाही भएको छ ।
पछिल्लो ६ वर्षमा ७२९ पटक कारबाहीमा परेका बिष्ट औसतमा प्रत्येक वर्ष १२२ पटक र करिब तीन दिनमा एक पटक ट्राफिक कारबाहीमा परेको देखिन्छ । उनले ७२८ पटकको जरिबाना तिरिसकेका छन् भने पछिल्लो जरिबाना भने बाँकी रहेको छ । उनले अधिकांश पटक ५०० र १००० रुपैयाँका दरले जरिबाना तिरेका छन् ।
सामान ढुवानी गर्ने क्रममा हुने नियम उल्लंघनको जरिबाना कम्पनीले तिरिदिने भएकाले आफूलाई ठूलो असर नपरेको बुझाइमा रहेका बिष्टलाई व्यक्तिगत ट्राफिक रेकर्ड र भविष्यमा पर्ने प्रभावबारे जानकारी गराएपछि भने उनी सचेत भएका थिए । प्रहरीले पुनः यस्तै गतिविधि दोहोरिएमा चालक अनुमतिपत्रसमेत खारेज हुन सक्ने भन्दै सचेत गराएको छ ।
ट्राफिक प्रहरीका अनुसार बिष्टले मादक पदार्थ सेवन (मापसे) वा लागुपदार्थ सेवन (लापसे) गरी सवारी चलाएको भने भेटिएको छैन । कतिपय दिनमा उनी एकै दिनमा समेत कारबाहीमा परेको अभिलेख छ ।
ट्राफिक प्रहरी अधिकारीहरूका अनुसार नेपालको ट्राफिक कारबाही इतिहासमा एउटै चालक ६ वर्षमा ७२९ पटक कारबाहीमा परेको यो पहिलो घटना हो । यो घटनाले पटकपटक जनचेतना अभियान सञ्चालन भइरहे पनि केही चालकको व्यवहार परिवर्तन गर्न नयाँ शैलीका सचेतना कार्यक्रम आवश्यक रहेको देखाएको प्रहरीको भनाइ छ ।