मंगलवार, कार्तिक १७ गते २०८३

Tuesday 3rd November 2026

ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु, चालकको खोजी तीव्र

बुधवार , आश्विन १४, २०८३

रौतहट,१४ असोज — गढीमाई नगरपालिका–७, धरमपुरमा ट्याक्टरको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। आफ्नै घरअगाडि सडकमा खेलिरहेका स्थानीय छोटेलाल यादवका छोरा रितिक यादवलाई ट्याक्टरले ठक्कर दिँदा उनको मृत्यु भएको हो।

प्रहरीका अनुसार बुधबार बिहान ९ बजेर १५ मिनेटमा धरमपुरबाट पौराहीतर्फ जाँदै गरेको ना.६ त ८४९२ नम्बरको ट्याक्टरले बाटोमा खेलिरहेका बालक रितिकलाई ठक्कर दिएको थियो। ट्याक्टरको ठक्करबाट बालकको टाउकोमा गम्भीर चोट लागेको थियो।

घाइते बालकलाई तत्काल उपचारका लागि गरुडा, रौतहटस्थित बेटर नेपाल अस्पताल लगिएको थियो। अस्पतालमा उपचारका क्रममा बिहान १० बजेर ३० मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाबारे अस्पतालबाट प्रहरी चौकी धरमपुरमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक कृष्णमोहनप्रसाद गुप्ताको कमाण्डमा तीन सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीका अनुसार घटनापछि ट्याक्टर चालक सवारीसाधन घटनास्थलमै छाडेर फरार भएका छन्। चालकको नामथर र वतनसमेत हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ। फरार चालकको खोजतलास भइरहेको छ।

घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक प्रमोद खड्काको कमाण्डमा ‘सोको’ (सिन अफ क्राइम अफिसर) सहितको टोलीसमेत घटनास्थलमा खटिएको छ।

प्रहरीले घटनामा प्रयोग भएको ट्याक्टरका धनी स्थानीय सञ्जीव यादवलाई नियन्त्रणमा लिएको जनाएको छ। ट्याक्टरलाई समेत प्रहरी चौकी धरमपुरमा ल्याउने प्रक्रिया भइरहेको प्रहरीले जनाएको छ।

घटनाको विस्तृत अनुसन्धान भइरहेको र फरार चालकको खोजी तथा घटनासँग सम्बन्धित अन्य कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया