फोटो : Ai
जनकपुरधाम,१३ असोज — धनुषामा टिपरको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको लोहारपट्टी नगरपालिका–३ निवासी रामनाथ रामकी छोरी नैनसी राम रहेकी छन् ।
धनुषा प्रहरीका अनुसार सोमबार साँझ क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित राजदेवी मन्दिर अगाडि जनकपुर–ढल्केवर सडकखण्डमा दुर्घटना भएको हो । जनकपुरबाट महेन्द्रनगरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ख ८५४५ नम्बरको टिपरले सडक पार गर्ने क्रममा बालिकालाई ठक्कर दिएको थियो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि जानकी मेडिकल कलेज, रमदैयामा लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि उनलाई रामजानकी अस्पताल जनकपुर सारिएको थियो । तर उपचारका क्रममा चिकित्सकले साँझ ८ः५० बजे बालिकालाई मृत घोषणा गरेको धनुषा प्रहरीले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार मृतक बालिकाको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न टिपरका चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–३ निवासी करिब ३६ वर्षीय उमेशसिंह दनुवार रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सडक पार गर्ने क्रममा भएको उक्त दुर्घटनाले स्थानीय क्षेत्रमा शोक छाएको छ । प्रहरीले दुर्घटनाको कारण र घटनाको सम्पूर्ण अवस्थाबारे अनुसन्धान अघि बढाएको जनाएको छ ।