झापा,१२ असोज — झापाको बाह्रदशी गाउँपालिका–१ भागडुब्बास्थित सडकमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने पछाडि सवार एक जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बुधबार बिहान करिब १०ः४५ बजे भागडुब्बाबाट राजगढतर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ३५२४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्र.१–०१–०१४ प ११९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा बाह्रदशी गाउँपालिका–४ निवासी १८ वर्षीय करण राजवंशी र सोही स्थानका १९ वर्षीय अजय राजवंशी घाइते भएका थिए । घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो ।
उपचारका क्रममा मोटरसाइकल चालक करण राजवंशीलाई चिकित्सकले दिउँसो १२ः१० बजे मृत घोषणा गरेका हुन् । मोटरसाइकलको पछाडि सवार अजय राजवंशीको अवस्था भने मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बस, मोटरसाइकल तथा बस चालक बाह्रदशी गाउँपालिका–१ सालघारी निवासी करिब ४१ वर्षीय धनबहादुर खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।