गलकोट (बागलुङ),११ असोज – बागलुङको निशीखोला गाउँपालिका–३ धारखर्कमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिरोले घर पुरिँदा आमा र उनका तीन छोराले ज्यान गुमाएका हुन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंका अनुसार मृत्यु हुनेमा निशीखोला–३ धारखर्ककी ३६ वर्षीया श्यामकुमारी विक, उनका १३ वर्षीय छोरा मनोज विक, ८ वर्षीय छोरा मुकेश विक र ३ वर्षीय छोरा निशन विक रहेका छन् ।
प्रहरीका अनुसार घरभित्र सुतिरहेको अवस्थामा अचानक पहिरो खसेपछि उनीहरू पुरिएका थिए । घटनापछि उद्धारमा खटिएको प्रहरीले चारै जनाको शव निकालेको जनाएको छ । मृत्यु भएकाहरूको शव आवश्यक परीक्षणका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरी उपरीक्षक प्रसाईंले जानकारी दिए ।
पहिरोले घर पुरिनुका साथै त्यस क्षेत्रको विद्युत् सेवा समेत प्रभावित भएको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण संकलन तथा अनुसन्धानको काम भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।