काठमाडौं,०८ असोज – भारतको झारखण्ड राज्यको जमशेदपुर जिल्लास्थित दोमुहानी क्षेत्रमा भएको भीषण सडक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा झारखण्डकी ग्रामीण विकासमन्त्री दीपिका पाण्डे सिंहकी छोरीसमेत परेकी छन् ।
प्राप्त विवरणअनुसार बुधबार अबेर राति दोमुहानी क्षेत्र नजिक कार र ट्रक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। तीव्र गतिमा भएको ठक्करका कारण कार पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो । दुर्घटनाको गम्भीरताका कारण कारमा सवार चार जनाले ज्यान गुमाएका हुन् ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी र उद्धार टोली घटनास्थल पुगेको थियो । उद्धारकर्मीहरूले तत्काल राहत तथा खोजी कार्य सुरु गरेका थिए। दुर्घटनापछि स्थानीय बासिन्दाको ठूलो भीड घटनास्थलमा जम्मा भएको थियो ।
मन्त्री दीपिका पाण्डे सिंहकी छोरीको निधनको खबर सार्वजनिक भएपछि झारखण्डको राजनीतिक तथा सामाजिक क्षेत्रमा शोक छाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ भने दुर्घटनाको वास्तविक कारण पत्ता लगाउन आवश्यक विवरण सङ्कलन भइरहेको छ ।
यस घटनाप्रति झारखण्डका स्वास्थ्यमन्त्री डा. इरफान अन्सारीले पनि दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत दुर्घटना अत्यन्तै पीडादायी भएको उल्लेख गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
दुर्घटनाले मन्त्री परिवारसहित स्थानीय समुदायलाई गहिरो पीडामा पारेको छ । प्रहरी अनुसन्धानपछि घटनासम्बन्धी थप तथ्य सार्वजनिक हुने अपेक्षा गरिएको छ ।