शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

१० करोड रुपैयाँमा अन्तरिक्ष यात्रा गर्ने अवसर

बिहिवार , आश्विन १, २०८३

काठमाडौं ,०१ असोज – अन्तरिक्ष यात्राको अनुभव लिन चाहनेका लागि चीनमा अहिलेसम्मकै महँगो पर्यटकीय प्याकेज सार्वजनिक भएको छ । चिनियाँ अनलाइन ट्राभल प्लेटफर्म ट्रिप डटकमले सार्वजनिक गरेको उक्त प्याकेजको न्यूनतम मूल्य ५१ लाख चिनियाँ युआन तोकिएको छ, जुन करिब ७ लाख ६० हजार अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ करिब १० करोड बराबर पर्छ ।

अन्तरिक्ष पर्यटनलाई लक्षित गरी ल्याइएको यो प्याकेज चिनियाँ बजारमा विशेष चर्चाको विषय बनेको छ । साउथ चाइना मोर्निङ पोस्टका अनुसार यो कुल ६ दिनको कार्यक्रम हो, जसमा अन्तरिक्ष यात्राअघि आवश्यक पर्ने विभिन्न चरणका प्रशिक्षण र तयारीसमेत समावेश गरिएको छ ।

प्याकेजअन्तर्गत पाँचौँ दिनमा अमेरिकाको भर्जिन ग्यालेक्टिक कम्पनीद्वारा सञ्चालन हुने ९० मिनेटको सब–अर्बिटल अन्तरिक्ष उडान गराइनेछ । उक्त उडान अमेरिकाको न्यू मेक्सिकोस्थित लास क्रुसेजबाट सञ्चालन हुने जनाइएको छ । यात्राको पहिलो चार दिन भने अन्तरिक्ष यात्राका लागि आवश्यक तयारी, अभ्यास र प्रशिक्षणमा केन्द्रित हुनेछन् भने छैटौँ दिन यात्रुहरू फर्किने कार्यक्रम रहेको छ ।

अन्तरिक्ष यात्रामा सहभागी हुने व्यक्तिका लागि सिमुलेटर अभ्यास, सेन्ट्रीफ्युज प्रशिक्षण, जी–फोर्स सहनशीलता परीक्षण, आपतकालीन अवस्थाको प्रतिक्रिया अभ्यास तथा अन्तरिक्ष उडानमा प्रयोग हुने उपकरण सञ्चालनसम्बन्धी तालिम उपलब्ध गराइनेछ ।

प्याकेजमा प्रशिक्षण अवधिको चार दिनको आवास, खानाको व्यवस्था, विमानस्थलसम्मको यातायात सुविधा, विशेष फ्लाइट सुट, अन्तरिक्ष यात्री ब्याच, स्पेस एक्स्प्लोरर्स एसोसिएसनको पिन तथा उडानसम्बन्धी भिडियो र तस्बिर सामग्रीसमेत समावेश गरिएको छ ।

यद्यपि अन्तर्राष्ट्रिय हवाई यात्रा खर्च, अमेरिकी भिसा शुल्क, बिमा तथा अन्य अतिरिक्त खर्च भने यात्रुले आफैं व्यहोर्नुपर्ने व्यवस्था गरिएको छ । प्याकेज बुकिङका लागि यात्रुले १ लाख ५० हजार अमेरिकी डलर धरौटी रकम जम्मा गर्नुपर्नेछ । यात्रा रद्द भएको अवस्थामा उक्त धरौटी रकम फिर्ता नहुने प्रावधानसमेत राखिएको छ ।

ट्रिप डटकममार्फत सार्वजनिक गरिएको यो प्याकेज चिनियाँ सार्वजनिक बजारमा उपलब्ध हालसम्मकै सबैभन्दा महँगो अन्तरिक्ष पर्यटन कार्यक्रमका रूपमा प्रस्तुत गरिएको छ । पछिल्ला वर्षहरूमा विश्वभर निजी अन्तरिक्ष पर्यटनको विस्तार भइरहेका बेला सर्वसाधारणका लागि अन्तरिक्ष यात्रा अझै पनि सीमित र उच्च लागतको अनुभवका रूपमा रहेको छ ।

प्रतिक्रिया