स्याङ्जा,०१ असोज – स्याङ्जाको वालिङ नगरपालिका–६ पाडेटारीमा ईभी माइक्रो बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बिहीबार दिउँसो भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुई जना घाइते भएका हुन् ।
प्रहरीका अनुसार मिर्दीबाट चापाकोटतर्फ जाँदै गरेको ग १ ज ८४३७ नम्बरको ईभी माइक्रो बस र विपरीत दिशाबाट आउँदै गरेको लु ९६ प ५९४७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा पाल्पाको रामपुर नगरपालिका–५ निवासी ३२ वर्षीय मोटरसाइकल चालक सुरज अधिकारी गम्भीर घाइते भएका छन् । उनको टाउको र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
त्यस्तै, मोटरसाइकलको पछाडि सवार सोही स्थानका २३ वर्षीय सरोज विक घाइते भएका छन् । उनको बाँया हात र टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ ।
घाइते दुवै जनालाई तत्काल उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएको थियो । प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनीहरूलाई गण्डकी अस्पताल पोखरा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
दुर्घटनापछि माइक्रो बस चालक तथा दुवै सवारीसाधनलाई वालिङ प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । घटनाको वास्तविक कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।