इटहरी ,०१ असोज – सुनसरीको इटहरी उपमहानगरपालिका–८ भोजपुरे टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बुधबार राति ८ः१० बजे लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले स्थानीय २३ वर्षीय मोहमद अफ्रोज हुसेनलाई चेकजाँच गरेको थियो ।
खानतलासीका क्रममा हुसेनको साथबाट ब्राउन सुगर जस्तो देखिने १५ दशमलव ९७ ग्राम पदार्थ र नगद १८ हजार १८० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । बरामद लागूऔषध र नगदसहित उनलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय इटहरीमा राखिएको छ । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।