शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

खैरो हेरोइन ५१.४५० ग्राम सहित तीन जना पक्राउ

मंगलवार , भाद्र ३०, २०८३

नेपालगञ्ज,३० भदौ – लागू औषध नियन्त्रण ब्यूरो र स्थानीय प्रहरीको संयुक्त टोलीले बाँकेबाट खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूबाट ५१.४५० ग्राम खैरो हेरोइन बरामद भएको लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौंले जनाएको छ ।

ब्यूरो शाखा कार्यालय नेपालगञ्ज र इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको संयुक्त प्रहरी टोलीले सोमबार बाँकेको कोहलपुर नगरपालिका–१० बाट सुर्खेत वीरेन्द्रनगर नगरपालिका–३ का १९ वर्षीय प्रिन्स शाहीसहित दुई जनालाई पक्राउ गरेको हो । उनीहरूको साथबाट १०.७८० ग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरूमाथि अनुसन्धान गर्ने क्रममा लागू औषध कारोबारमा संलग्न थप एक व्यक्तिको संलग्नता खुलेपछि प्रहरीले मंगलबार बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ बाट उनलाई समेत नियन्त्रणमा लिएको हो । उक्त व्यक्तिको साथबाट थप ४०.६७० ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने अन्य व्यक्तिहरूमा बाँकेको राप्तीसोनारी गाउँपालिका–३ का २८ वर्षीय लाहुराम थारु र नेपालगञ्ज उपमहानगरपालिका–३ का ३५ वर्षीय मोहम्मद रहिम अन्सारी रहेका छन् ।

लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वरका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीका अनुसार पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेको जिम्मा लगाइएको छ ।

प्रहरीका अनुसार बरामद सामग्रीमा ५१.४५० ग्राम खैरो हेरोइन, डिजिटल तराजु एक थान, नेपाली रुपैयाँ ९९ हजार, भारतीय रुपैयाँ १ लाख ४६ हजार तथा भे.७ प. ५३५१ र भे.१५ प. ५३१ नम्बरका दुई वटा मोटरसाइकल रहेका छन् ।

प्रहरीले लागू औषध कारोबार नियन्त्रणका लागि निगरानी र अनुसन्धानलाई थप प्रभावकारी बनाउँदै लगिएको जनाएको छ ।

प्रतिक्रिया