शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

बसको ठक्करबाट सशस्त्र प्रहरीका सहायक हवल्दारको मृत्यु

मंगलवार , भाद्र ३०, २०८३

विराटनगर — मोरङको बूढीगंगा गाउँपालिकामा भएको सवारी दुर्घटनामा सशस्त्र प्रहरी बल नेपालका एक सहायक हवल्दारको मृत्यु भएको छ । सोमबार साँझ भएको दुर्घटनामा मोटरसाइकल चालक सशस्त्र प्रहरी बलका सहायक हवल्दार ३६ वर्षीय सुदीप खड्काको ज्यान गएको हो ।

मोरङ ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार वीरगञ्जबाट विराटनगरतर्फ आउँदै गरेको को १ ख ७९१३ नम्बरको बसले पश्चिमबाट पूर्वतर्फ सडक पार गर्दै गरेको प्र १–०४–००४ प ०३४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

दुर्घटनापछि गम्भीर घाइते भएका खड्कालाई तत्काल उपचारका लागि बूढीगंगास्थित विराट शिक्षण अस्पताल पु¥याइएको थियो । उपचारका क्रममा साँझ ६ बजेर ५२ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतक खड्का मोरङको बूढीगंगा गाउँपालिका–४ का स्थायी बासिन्दा रहेको प्रहरीले जनाएको छ । उनी सशस्त्र प्रहरी बल नेपालअन्तर्गत सप्तरीस्थित बीओपी (बोर्डर आउट पोस्ट) स्वर्णकट्टीमा कार्यरत थिए ।

प्रहरीका अनुसार दुर्घटनामा संलग्न बसका चालक सुनसरीको रामधुनी नगरपालिका–५ शिवचोक निवासी ४८ वर्षीय राजन दाहाललाई नियन्त्रणमा लिइएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सडक सुरक्षा सतर्कताको अभाव र सवारी साधनको सावधानीपूर्ण सञ्चालन नहुँदा पछिल्लो समय दुर्घटनाका घटना बढिरहेका छन्। प्रहरीले सवारी चालक तथा यात्रुलाई ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया