शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

खैरो हेरोइनसहित चार जना पक्राउ

आइतवार , भाद्र २८, २०८३


सिरहा,२८ भदौ — भारतबाट लागुऔषध खैरो हेरोइन ल्याई जिल्लाका विभिन्न स्थानमा बिक्री वितरण गर्दै आएको आरोपमा सिरहामा चार जना पक्राउ परेका छन् ।

लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय गोलबजार सिरहाबाट खटिएको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाका आधारमा गोलबजार नगरपालिका–१२ बेतौनाबाट उनीहरूलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर, काठमाडौंका अनुसार पक्राउ पर्नेमा गोलबजार नगरपालिका–१२ बेतौना बस्ने २० वर्षीय अरविन्द कुमार सिंह, ३२ वर्षीय भुनेश्वर मण्डल, २७ वर्षीय बिरेन्द्र कुमार साह तथा गोलबजार नगरपालिका–६ बस्ने ३३ वर्षीय रितेश यादव रहेका छन् ।

प्रहरी टोलीले उनीहरूको साथबाट ९७ ग्राम ५३० मिलिग्राम खैरो हेरोइन बरामद गरेको जनाएको छ । साथै घटनास्थलबाट पाँच थान मोबाइल फोन र लागुऔषध तौल गर्न प्रयोग हुने एक थान डिजिटल तराजुसमेत नियन्त्रणमा लिइएको छ ।

ब्युरोका अनुसार पक्राउ परेका व्यक्तिहरूले भारतबाट लागुऔषध खरिद गरी ल्याएर सिरहा जिल्लाका विभिन्न क्षेत्रमा बिक्री गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजार सिरहामा बुझाइएको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दुर्गा राज रेग्मीले उक्त घटनाबारे जानकारी दिएका हुन् । ब्युरोले लागुऔषध ओसारपसार तथा अवैध कारोबार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ ।

प्रतिक्रिया